मोदीको शपथ समारोहमा ओली सहभागी हुँदै

maitrinews

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भई बधाई तथा शुभकामना दिन आज नयाँदिल्ली जाँदै हुनुहुन्छ।

दोस्रो कार्यकाल थाल्दै गरेका मोदीले आज बेलुकी राष्ट्रपति रामनाथ कोविन्द समक्ष शपथ लिँदै हुनुहुन्छ। ओली सोही कार्यक्रममा सहभागी हुनु हुनेछ ।

मोदीले शुक्रबार आमन्त्रित सरकार एवम् राष्ट्र प्रमुखसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ। उहाँले बिम्स्टेक सदस्य राष्ट्रका कार्यकारीलाई सँगै राखेर पनि छलफल गर्नुहुनेछ ।

मोदीले अघिल्लो कार्यकालको शपथ ग्रहणमा सार्क सदस्य राष्ट्रलाई निम्तो गर्नुभएको थियो भने यसपटक बिम्स्टेक सदस्य राष्ट्रलाई बोलाउनुभएको छ ।

ओली र मोदीबीच शुक्रबार दुई देशबीचको दुईपक्षीय विषयमा कुराकानी गर्ने बताइएको छ। प्रधानमन्त्री ओली सार्क अध्यक्षसमेत रहेकाले सार्कको विषयलाई उठाउने विश्वास गरिएको छ ।

यसपटक छिमेकी राष्ट्र पाकिस्तानलाई भारतले बोलाएको छैन । अबको सार्क पनि पाकिस्तानमै हुनुपर्ने छ । त्यसैगरी नेपाल भारत सम्बन्ध मजबुद बनाउन र विभिन्न सन्धी सम्झौतामा पुनराबलोकन गर्न गठीत प्रबुद्ध व्यक्ति समूह ईपीजीले तयार पारेको प्रतिवेदन बुझ्ने विषयमा समेत कुराकानी गर्न सक्नेछन् ।

ईपीजीको नेपाल पक्षतर्फका दुई सदस्यमध्ये एक निलाम्बर आचार्य भारतका लागि नेपाली राजदूत हुन् भने अर्का डा राजन भट्टराई परराष्ट्र सल्लाहकार हुनुहुन्छ । दुवै जना ओलीसँग छलफलमा सहभागी हुनुहुनेछ ।