प्रदेश नं ३ को नाम “नेपालमण्डल प्रदेश” राख्ने प्रस्तावले संसद्मा औपचारिक प्रवेश पायो

Mohan Bastola

हेटौँडा । प्रदेश नं ३ को नाम “नेपालमण्डल प्रदेश” राख्ने प्रस्तावले प्रदेश नम्बर ३ को संसद् सचिवालयमा औपचारिक प्रवेश पाएको छ । प्रदेश सांसद्हरुले संसद सचिवालयमा औपचारिक प्रस्ताव राखेसँगै यसले औपचारिक प्रवेश पाएको हो । प्रदेश नम्बर तीनका सांसदहरुले प्रदेश नम्बर तीनका सभामुख सानु श्रेष्ठमार्फत सचिवालयमा सो प्रस्ताव राखेको प्रस्तावक सांसद डाक्टर अजयक्रान्ति शाक्यले जानकारी दिनुभयो । .प्रस्तावको प्रस्तावकमा डा. अजय क्रान्ति शाक्य र बसन्त मानन्धर रहनु भएको छ भने समर्थकमा सांसद्हरु केशव स्थापित, राजेश शाक्य, ज्ञानेन्द्र शाक्य, राजकाजी महर्जन, प्रकाश श्रेष्ठ, उर्मीला, सरस्वती वाटी हुनुहुन्छ । प्रस्तावमा प्रदेश नम्वर तीनको नाम नेपाल मण्डल नै रहनुपर्ने ऐतिहासिक तथा भौगोलिक, जनसंख्या, पहिचानको कारण समेत उल्लेख गरिएको छ ।

ऐतिहासिक कारणमा उनीहरुले वर्तमान प्रदेश नं. ३ पहिलेको नेपालमण्डल नै रहेको उल्लेख गरेका छन् । ‘यस प्रदेशका १३ वटा जिल्ला मध्ये चितवन जिल्लाबाहेक अरु सवै नेपालमण्डल प्रदेश भित्रै नै पर्दछ । र चितवन पनि मल्ल राजा यक्ष मल्लको पालामा नेपालमण्डल अन्तर्गत नै रहेको पाइन्छ,’ प्रस्तावमा भनिएको छ, ‘लिच्छवी कालको अभिलेखमा उल्लेख भए अनुसार नेपालमण्डलको फैलावट पूर्वमा कुशेश्वर (सुनकोसी, सिन्धुली), पश्चिममा केवलपुर (धादिङ्ग), उत्तरमा रसुवापारि केरुङ र दक्षिणमा तिस्तुङ (मकवानपुर) सम्म थियो । तसर्थ वर्तमान प्रदेश नं. ३ ऐतिहासिकता र भूगोलको हिसावले पनि प्राचिन नेपालमण्डल नै हो ।’

प्रस्तावमा पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गरी अरु राज्यहरु यसमा गाभिंदा नेपालमण्डललाई एक अलग्गै प्रदेश मानेको कुरा पनि उल्लेख गरिएको छ । ‘पृथ्वीनारायण शाह र उनका सन्तानले देशको नाम गोरखा मानेका थिए । राणाकालसम्म सो नामले औपचारिकता पाइरह्यो । पृथ्वीनारायण शाहको पालामा उनको विस्तारित नेपाल अधिराज्यमा ३ वटा प्रदेश थियो – वाईसे चौवीसे राज्यका र त्यसको आसपासको भाग, नेपालमण्डल र पूर्व र दक्षिणको सेनराज्य (किराँत),’ प्रस्ताव मै भनिएको छ, ‘ नेपालमण्डलको भूगोल अनुसार हिमाली क्षेत्र (लाङताङ, जुगल हिमाल, गणेश हिमाल, गौरीशंकर आदि), पहाडी क्षेत्र (महाभारत पर्वत श्रृंखला) र भित्री मधेश (चुरेपर्वत श्रृंखला) सम्मिलित भई विविध वातावरणीय सम्पदायूक्त छ । सोह्रौं शताब्दीतिर लेखिएको नेपाल महात्यमयको अध्याय १५ श्लोक ३–५ मा उल्लेख भए अनुसार नेपालमण्डलको सिमानापूर्वमा कौशकी (तामाकोशी, रामेछाप), पश्चिममा त्रिशुली, धादिङ्ग र नुवाकोट), उत्तरमा शिवलुति (गोसाईकुण्ड क्षेत्र, रसुवा), र दक्षिणमा शीतलोदकानदी (चिसापानी, इन्द्रसरोवर, मकवानपुर) सम्म रहेको पाइन्छ ।

स्वयम्भू पूराणको आधारमा राजाधर्माकरले नियमपूर्वक पालेको हुनाले यो देशको नाम नेपालमण्डल रहन गएको हो भन्ने उल्लेख रहेको कुरालाई पनि प्रस्तावमा समावेश गरिएको छ । ‘नेपालमण्डल शब्दको ऐतिहासिकता अध्ययन गर्दा इश्वीको करिव तेस्रो शताब्दीदेखि उल्लेख भएको पाइन्छ । इश्वीको तेस्रो शताब्दिको मानिने आर्यमहामञ्जुश्रीमूलकल्प भन्ने बौद्धग्रन्थको श्लोक नं. ५०२ र ५०३ मा नेपालमण्डल भन्ने शब्द उल्लेख भएको छ । यसर्थ नेपालमण्डल लिच्छवी राजा मानदेव अघि देखि नै उल्लेख भएको तथ्य इतिहास प्रमाणका आधारमा बुझ्न सकिन्छ,’ प्रस्तावक शाक्यले भन्नुभयो, ‘यस्तै नेपालमण्डल शब्द सर्वप्रथम काठमाडौं ज्ञानेश्वरस्थित लिच्छवी राजा जयदेवको इश्वीको आठौं शताब्दीको अभिलेखमा उल्लेख भएको पाइन्छ । नेपालमण्डल नाम नेपालका प्राचीन अभिलेखहरुमा आठौं शताब्दीदेखि निरन्तर प्रयोग हुंदै आएको पाइन्छ । मल्लकालसम्म आउँदा नेपालमण्डल भन्नाले पाँचवटा राज्य भएको एउटा देश भन्ने बुझिन्छ । ती पाँचवटा राज्यहरु क्रमशः काठमाडौं, भक्तपुर, ललितपुर, वनेपा र दोलखा हुन् । यी पाँच वटा राज्य भित्र अहिलेको प्रदेश नं ३ को १३ वटा जिल्लामध्ये १२ वटा जिल्ला पर्दछ । ती १२ वटा जिल्लाहरु काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा, सिन्धुली, रसुवा, नुवाकोट, धादिङ्ग, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, मकवानपुर हुन् र बांकी चितवन पनि यक्षमल्लको पालादेखि नेपालमण्डल भित्रै पर्दथ्यो ।’

पहिचानका आधारमा पनि नेपालमण्डल नामले बहुपहिचान स्थल भन्ने पनि बुझाउँछ । यहाँ रहेका मानिसहरुको सभ्यता नै नेपालमण्डलको सभ्यताको रुपमा रहेको छ । नेपालको धेरै जसो धार्मिक, साँस्कृतिक पूजाआजा गर्दा नेपालमण्डलको उच्चारण गर्ने गरेको प्रस्तावमा उल्लेख छ । ‘नेपालमण्डल नामले बहुपहिचान सहित यहाँको जनताको सामाजिक–साँस्कृतिक पहिचान बोकेको स्पष्ट हुन्छ । तसर्थ पहिचानको दृष्टिकोणले पनि नेपालमण्डल नामले नै प्रदेश नं ३ को सवैको पहिचानलाई समेट्दो रहेछ । त्यसैले पनि यस प्रदेशको नाम “नेपालमण्डल प्रदेश” नै राखियोस् भन्ने हाम्रो प्रस्ताव छ,’ शाक्यले भन्नुभयो । नेपालमण्डलका मुख्य दुई जाती नेवार र तामाङ बाहेक मल्लकालमा नेपालमण्डल आई बसेका खस आर्य, ब्राम्हणहरु पनि यहाँका आदिबासी रहेको भन्दै अल्पसंख्यक रुपमा रहेका दोलखाको थामी, जिरेल, चुरे पहाड वरपर रहेका चेपाङ र काँठमा रहेका दनुवार पनि यहाँका आदिवासी  हुन्,’ प्रस्तावमा उल्लेख छ । ‘मल्लकालमा नेपालमण्डलमा आई बसेका खस जाति समूहलाई खसप्रजा भनिन्थ्यो,’ शाक्यले भन्नुभयो, ‘नेपालको इतिहासमा शाह, राणाहरु पनि करीब तीन सय बर्ष देखि यहाँ बसोबास गर्दै आइरहेका र करीब चारसय बर्ष अघि देखि यहाँ मुसलमान समुदाय पनि बसोबास गर्दै आईरहेको हुनाले ती जातिहरु पनि यहाँका आदिवासी मान्न सकिन्छ । वर्तमान समयसम्म आउँदा सयौं बर्ष अघि देखि बसोबास गर्दै आईरहेका विभिन्न जात–जातिका मानिसहरु सवै यहाँका सम्मानित जनता हुन् । नेपालमण्डल नामले बहुपहिचान सहित प्रदेश नं. ३ का सम्पूर्ण जनसंख्यालाई प्रतिनिधित्व गर्दछ । त्यसैले पनि यस प्रदेशको नाम “नेपालमण्डल प्रदेश” नै राखियोस् भन्ने प्रस्ताव छ ।’