प्रधानमन्त्री ओली एक साता लामो युरोप भ्रमणमा जानुहुने

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि युरोप भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्री ओली एक हप्ता लामो युरोप भ्रमणका क्रममा स्विट्जरल्यान्ड, बेलायत र फ्रान्स पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको युरोप भ्रमणबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी हुने जानकारी दिनुभयो ।

त्यसपछि जेठ २७ गते बेलायत पुगेर अक्सफोर्ड विश्वविद्यालयमा संबोधन गर्ने र नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ । यस्तै जेठ २९ गते फ्रान्स प्रस्थान गरी प्रधानमन्त्रीले त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओली भ्रमण पूरा गरी असार १ गते नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।