रौतहटमा मेयर सकिल कुटिए

maitrinews

 

रौतहट । इस्लाम धर्मावलम्बीको चाड इद उल(फित्र मनाउने क्रममा मस्जिदमा बसेका रौतहटको राजपुर फरदहवा नगरपालीकाका मेयरलाई स्थानिय एक युवकले मंगलबार राति कुटपिट गरेका छन् । पर्व मनाउने क्रममा चन्दा माग गरेका उनले रकम थोरै भएको भन्दै मेयर माथि आक्रमण गरेका थिए ।
मेयर शेख सकिललाई गाउँकै शेख नेषादले टर्चलाईटले प्रहार गरेका हुन् । इद मनाउने तयारीमा मस्जिद पुगेका मेयर सकिललाई चन्दाको बाहना निकालेर आक्रमण गरिएको हो । उनको आँखामा चोट लागेको छ । मेयर सकिलले सुनियोजित तरिकाले आफू माथि आक्रमण भएको बताए ।

‘चन्दा एउटा बाहना मात्र हो,’ उनले भने, ‘पुरानो रिसइबि साध्न आक्रमण गरेको हो । घट्नामा संलग्नलाई कडा कारबाही हुनुपर्छ ।’ गाउँलेको आग्रहमा पर्व मनाउने समय र तयारी बारे मस्जिदमा साँझ भेला हुने क्रममा मेयर सकिल पुगेका हुन् । आक्रमणमा संलग्न नेषादले पर्वका बेला अली बढी रकम सहयोग दिनुपर्ने माग अघि बढाएका थिए ।मेयर सकिलले यो बेला चन्दा माग्ने होईन भोली कार्यालयमा आउनु भनेका थिए ।

हातमा टर्च बोकेका उनले तत्कालै मेयर माथि जाई लागेको जिल्ला प्रहरी गौरले जनायो । आक्रमण कै बेला स्थानीयले छुट्याए लगत्तै नेषाद फरार भए । घटनाको सूचना पाए लगत्तै सुरक्षाकर्मी मस्जिद पुगेको जिल्ला प्रहरीका डिएसपी नविन कार्कीले बताए ।

‘हामिले मेयर माथि आक्रमण गर्नेको ब्यापक खोजतलास गरिरहेका छौं,’ उनले भने, ‘चाँडै फेला पर्छ । उनलाई कानुन अनुसार कारवाही हुन्छ ।’ प्रहरीले घटना बारे थप अनुसन्धान भइरहेको जनायो । घाइते मेयरलाई तत्काल उपचारका लागी सदरमुकाम गौर लगिएको थियो । त्यहाँबाट राति नै वीरगंज लगीएको थियो । उनको अवस्था समान्य रहेको प्रहरीले जनायो । मेयर सकिल कांग्रेसबाट जितेका हुन् ।