दोहोरो जिम्मेवारीबारे छलफल, नेकपा सचिवाल बैठक आज पनि

maitrinews

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्यहरूको कार्यविभाजनमा अझै सहमति जुट्न सकेन । ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्ज तोक्न तीनदेखि सचिवालयको बैठक बसे पनि निष्कर्ष निस्कन नसकेको हो ।
सचिवालयको बैठक आज पनि बस्दै छ ।
स्रोतका अध्यक्षद्वयले तयार पारेको प्रस्तावमा माधव नेपाल सहमत नभएपछि बैठक निष्कर्षविहीन बन्दै आएको छ ।
स्रोतका अनुसार नेता नेपाल केन्द्र र प्रदेशका मन्त्री, संसदीय समितिका सभापतिहरूलाई इन्चार्ज, सहइन्चार्जको जिम्मेवारी दिन नहुने पक्षमा छन् । सांसदलाई भने प्राथमिकता हेरेर बनाउन सकिने उनको प्रस्ताव छ ।
त्यस्तै नेता नेपालले जिल्ला इन्चार्ज, सहइन्चार्ज तोक्दा वरियतालाई ध्यान दिन सचिवालय बैठकलाई ध्यानकर्षण गराएका छन् ।

“माधव नेपाल शुरूदेखि नै सिनियारिटीका आधारमा नेतृत्व बाँडफाँट गर्नुपर्ने पक्षमा हुनुहुन्छ । जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्दा पनि वरीयता उलङ्घन गर्न नहुने उहाँको मत छ,” स्रोतले भन्यो ।

एउटा जिल्लामा इन्चार्ज र सहइन्चार्ज एक–एकजनामात्रै तोक्नुपर्ने नेता नेपालको भनाइ छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक जिल्लामा अनेक सहइन्चार्ज तोक्न सकिने प्रस्ताव अघि सारेका छन् ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले इन्चार्ज र सहइन्चार्जका विषयमा करिब–करिब सहमति जुटिसकेको र बिहीबार बस्ने बैठकले टुंगो लगाउने जानकारी दिए ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय सदस्यहरूको कार्यविभाजन जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंगो लागेपछि बाँकी प्रस्तावमा छलफल हुने जानकारी दिए ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली जेठ २५ गतेदेखि युरोप भ्रमणमा जाने भएकाले त्यो अगाडि नै कार्यविभाजन र विभागहरूलाई पूर्णता दिने तयारी छ ।