कांग्रेसद्वारा संसद अवरुद्ध

maitrinews

काठमाडौं । गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा धरपकड गरेको विषय प्रमुख विपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीको जवाफ मागेको छ ।

कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।

गुठी विधेयकविरुद्ध आन्दोलित गुठियारहरुमाथि सरकारले दमन गरेको भन्दै प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षका सांसदले विरोध गरेका थिए।

बैठकको सुरुमै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले गुठियारमाथिको दमन र गुठी विधेयकप्रति आपत्ति जनाएका थिए। त्यसपछि पुष्पा भुसालले विनियोजन बैठकबारे छलफल गर्न संसद बैठक डाकिएको भएपनि सभामुखले गुठी विधेयकबारे छलफल गराएकोमा आपत्ति जनाइन्। उनले गुठी विधेयक संस्कृति समाप्त पार्ने ढंगले आएको भन्दै विधेयक र गुठियारमाथिको दमनको विरोध गरिन्। उनले आइतबार भएको दमनको गृहमन्त्रीले सदनमा आएर जवाफ दिन आग्रह गरिन्।

उनले गृहमन्त्रीले सदनमा आएर जवाफ नदिएसम्म बैठक चल्न नदिने उनले बताइन्। यसपछि सभामुख कृष्णबहादुर महराले घटनाको विषयमा सरकारको ध्यानाकर्षण गराउने बताए। उनले भने, ‘अहिले गृहमन्त्री हुनुहुन्न। त्यसैले माननीयले उठाउनु भएको विषयमा सरकारको ध्यानाकर्षण गराउँछु। यो विषय गम्भीर नै हो।’