प्रधानमन्त्री ओली र बेलायती समकक्षी मेबीच द्विपक्षीय भेटवार्ता

 

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्य बेलायत का प्रधानमन्त्री थेरेसा मेसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । मेको मैत्रीपूर्ण निमन्त्रणामा बेलायतमा रहनुभएका प्रम ओलीले आज लण्डनमा द्विपक्षीय भेटवार्ता गर्नुभएको हो ।
भ्रमणका क्रममा स्वीट्जरल्याण्डको जेनेभाबाट सोमबार राति लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा प्रधानमन्त्री ओलीलाई बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यान्केस्टरले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री ओलीको स्वागतका लागि विमानस्थलमा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीका साथै दूतावासका अधिकारीहरु उपस्थित थिए ।

बेलायती संसद्मा नेपाल मामिला हेर्ने संसदीय समूहले प्रधानमन्त्रीको सम्मानमा कार्यक्रम आयोजना गरेको छ । बेलायती राजपरिवारका सदस्यसँग पनि प्रधानमन्त्रीको भेटको कार्यक्रम छ ।

प्रधानमन्त्रीसँग मंगलबार नेपाली दूतावासमा गैरआवासीय नेपाली सङ्गठन संयुक्त अधिराज्यका पदाधिकारी, पूर्वगोर्खा सैनिक सङ्गठनका प्रतिनिधि र प्रवासी नेपाली मञ्चका पदाधिकारीले भेट गर्ने कार्यक्रम छ ।