गोर्खा सैन्य भर्तीसम्बन्धी सन्धि पुनरावलोकन गर्नुपर्छ : ओली

maitrinews

 

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले गोर्खा सैन्य भर्तीसम्बन्धी नेपाल, भारत र ब्रिटेनबीच भएको त्रिपक्षीय सन्धिको व्यापक पुनरवलोकन गर्नुपर्ने बताउनुभएको छ ।

ब्रिटेनको भ्रमणमा रहेका ओलीले आफ्नी ब्रिटिश समकक्षी थेरेसा मेसँगको भेटघाटमा त्यस्तो बताउनुभएको हो ।

ब्रिटिश प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा भएको छोटो भेटवार्तामा ओलीले सन् १९४७ मा ब्रिटेन, भारत तथा नेपालबीच भएको त्रिपक्षीय सन्धियता परिस्थिति निकै बदलिइसकेकाले त्यसको पुनरवलोकन गर्नुपर्ने भनाइ राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले गोर्खा सैनिकहरू नेपाल र ब्रिटेनबीचको सम्बन्धमा सबैभन्दा स्पष्टसँग देखिने कडी भएको बताउनुभयो ।