पूर्वशिक्षामन्त्री पौडेलको निधन

maitrinews

 

चितवन । पूर्वशिक्षामन्त्री तथा नेकपाका केन्द्रीय सदस्य धनीराम पौडेलको निधन भएको छ ।
५३ वर्षीय पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित निवासमा निधन भएको हो ।
शुक्रबार बिहान घरमै बसिरहेका बेला हृदयघातका कारण पौडेलको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

माडीस्थित आफ्नै घरमा बिहान पौने ६ बजे हृदयघात भएर ढलेका पौडेललाई बगौडा अस्पताल पुर्‍याइयो । तर, त्यतिबेलासम्म उनी प्राणहीन बनिसकेका थिए ।
माडी नगरपालिका–५ मा पौडेलको घर निर्माणाधिन छ । घर ढलानका लागि उनी ५–६ दिन अगाडि माडी गएका थिए । आज बिहानै उठेर उनी बेल्चाले गिटी मिलाउन तल्लीन थिए । त्यही क्रममा उनका एक साथी त्यहाँ आइपुगे । उनीसित गफिँदै गर्दा अचानक पौडेल ढल्न पुगेका थिए । त्यसपछि तुरुन्तै उनलाई बगौडा अस्पताल पुर्‍याइएको थियो ।
नेकपा नेता पौडेल यसअघिको सरकारमा शिक्षा मन्त्री थिए । सक्रिय राजनीतिमा रहेका पौडेल हाल नेकपाको केन्द्रीय सदस्यको भूमिकामा थिए । पौडेलका दुई छोरी छन् । उनकी पत्नी गंगा बेल्वासे पनि नेकपाकी केन्द्रीय सदस्य हुन् ।