युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आज स्वदेश फर्कनु भएको छ । युरोपका तीन मुलुकको भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्कनु भएको हो ।
यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जानुभएको प्रधानमन्त्री ओली जेनेभाबाट कतार एयरवेजको विमानबाट अहिले बिहान ९ बजेर४० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण गर्नु भएको हो ।

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आइएलओ० को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुनुभएको थियो । दुई दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायत जानुभएको थियो । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई उहाँले सम्बोधन गर्नुभएको थियो ।

यस्तै बेलायतमा छँदा त्यहाँका प्रधानमन्त्री थेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गर्नुभएको थियो । यस्तै फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।