गुठी विधेयकमा कमीकमजोरी भए सच्याइन्छ : प्रधानमन्त्री

maitrinews

 

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको गुठी विधेयकमा केहि कमिकमजोरी भए सच्याइने बताउनुभएको छ ।

एक साता लामो युरोप भ्रमण सकेर आज स्वदेश फर्केपछि उहाँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलन मार्फत सांस्कृतिक, ऐतिहासिक धरोहर तथा परम्परा र रितिस्थितिका क्षेत्रमा सरकारले गर्नुपर्ने काममा केहि तलमाथि भए त्यसलाई सच्याइने प्रष्ट पार्नुभएको हो ।

उहाँले भन्नुभयो,–‘अहिले जनतालाई देवता मान्ने, जनतालाईै सर्वोपरि ठान्ने, जनताको इच्छा आकांक्षा हित र आदेश अनुसार कामगर्ने, जनताप्रति उत्तरदायि सरकार छ । त्यसकारण जनताका कुरा सुन्छ र जनताको हितमा काम गर्छ ।’

कामगर्दे जादा सतप्रतिशत पर्फेक्ट कोहीपनि हुन नसक्ने भन्दै उहाँले जनताले यहाँ नेर यस्तो गल्ती भयो है भन्ने बित्तिकै बिरोधी भावनाले जनता उचालेर भड्काउने प्रयास केही केहीले गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,–‘ केही मानिसलाई खुबै मौका पायौ भन्ने होला तर कुनै चान्स आउनेवाला छैन । चान्स छैन किनभने यो सरकार जनताको हो । कुनै कांंही त्रुटि देखियो भने सरकारले सच्याईहाल्छ ।’ प्रधानमन्त्री ओलीले विधेयकका विषयमा भएको विरोधको मौका छोपेर फाइदा नउठाउन पनि आग्रह गर्नुभयो ।

कतिपय ठाउँमा गुठीका नाउँमा गरिबमाथी शोषण भइरहेको बताउदै प्रधानमन्त्री ओलीले भन्नुभयो,–‘धार्मिक गुठी, ऐतिहासिक गुठीहरु हाम्रा सास्कृतिक परम्पराहरुको सांस्कृतिक धरोहरसँग जोडिएका गुठीको कुरा बेग्लै हो । यदि यस बिधेयकले कहि कतै त्यस प्रकारका गुठीहरुमा केही धक्का परेको रहेछ भने त्यो सरकारले विचार गर्छ ।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताप्रति उतरदायी भएकोले जनताको मन दुखाउने नभएर जनता हसाँउने काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।