बहुतले पार्किङको योजनामा निरन्तर लागेका छौँः मेयर शाक्य

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अव्यवस्थित पार्किङका कारण सास्ती खेप्नु परेको भनेर धेरैले गुनासो गरेपछि काठमाडौँ महाननगभित्रका केही स्थानमा ‘स्मार्ट पार्किङ’को सेवा शुरु गरेको बताउनु भएको छ । न्युरोड र बिशालबजार अगाडिका स्थानमा आजबाट ‘स्मार्ट पार्किङ्’ सेवा शुरुवात गर्दै उहाँले यस्तो बताउनु भएको हो । मेयर शाक्यले पिओयस मेसिनबाट क्युआर कोडसहितको बिल प्रिन्ट गरेर सेवा शुभारम्भ गर्दै भन्नुभयो– ‘स्थानीय र सरोकारवाला निकाय र विज्ञसँग लामो समय छलफल गरेर सेवा सञ्चालन शुरु गरेको हो । हाम्रो प्राथमिकता भनेको पार्किङ् क्षेत्रका लागि बहुतले वा भूमिगत पार्किङ् नै हो । त्यो व्यवस्थामा नपुगुञ्जेल अव्यवस्थित पार्किङका कारण सर्वसाधाणले खेप्नु परेको हैरानीलाई मध्यनजर गरेर यो सेवा शुरु गरेका हौँ ।’

उहाँले काठमाडौँ महानगरपालिकाले यो कार्यक्रम ‘पाइलट प्रोगाम’ का रुपमा न्युरोड र दरबारमार्ग क्षेत्रबाट शुरु गरेको जानकारी दिनुभयो । ‘हामीले गत वर्षकै नीति तथा कार्यक्रममा स्मार्ट पार्किङको विषयलाई समावेश गरेका थियौँ,’ उहाँले भन्नुभयो, ‘तर, सबैसँग छलफल गरेर मात्र अघि बढ्नुपर्छ भनेर हामीले केही ढिला शुरु गरेका छौँ । अहिले पनि केही कमजोरी भएका छन् भने आगामी दिनमा अझ सुधार गरेर अघि बढ्ने छौँ ।’ उहाँले काठमाडौँ महानगरपालिकाले सडक र बहुतले भवनबाट स्मार्ट पार्किङको सुरुवात गर्ने भनेर अघि बढाएको भएपनि बहुतले भवनबाट स्मार्ट पार्किङ सुरुवात गर्ने कुरामा केही प्राविधिक समस्या आएकाले तत्काल सुरु गर्न नसकिएको बताउनुभयो ।
‘टेण्डर प्रक्रिया नै अघि बढेको थियो,’ उहाँले भन्नुभयो, ‘६ जनताले त टेण्डर पनि हालेका थिए तर प्राविधिक कारणले त्यो फायल अघि बढ्न सकेन ।’

यद्यपि, अहिले पनि भूमिगत र बहुतले पार्किङ् स्थल निर्माण गर्ने योजना अघि बढिरहेको बताउनुभयो । उहाँले व्यवसायिक भवन धेरै बने पनि पार्किङ भवन बन्न नसक्दा समस्या भएको भन्दै महानगरपालिकाको ध्यान त्यो विषयमा बढी केन्द्रित भएको पनि बताउनुभयो । उहाँले सडकको पार्किङ अस्थायी व्यवस्थापनका लागि भएको भन्दै बहुतले पार्किङ भवनको शुरुवात गरेरै छाड्ने दाबी पनि गर्नुभयो । महानगरपालिकाको नीति पनि त्यहि रहेको बताउनुभयो । उहाँले प्रविधिले फड्को मारिरहेको अवस्थामा यो भन्दा नयाँ प्रविधि आए त्यो प्रविधिको समेत उपयोग गरेर सहरलाई थप व्यवस्थित बनाउने बताउनुभयो । उहाँले ब्हिल्स ट्रली योर्स प्रा. लि. सँगको सहकार्यका यो सेवा शुरु गरेको बताउँदै यो राम्रो कामको सुरुवात भएको दाबी गर्नुभयो ।

स्मार्ट पार्किङको सुरुवातसँगै १ सयलाई रोजगारी

मेयर शाक्यले कार्यक्रममा बोल्दै ब्हिल्स ट्रली योर्स प्रा. लिले कम्तीमा १ सय जनालाई रोजगारी दिने विश्वास दिलाएको पनि जानकारी दिनुभयो । ‘उहाँहरुले यो सेवा शुरु भएसँगै १ सय बढीलाई रोजगारी दिने भन्नुभएको छ,’ मेयर शाक्यले भन्नुभयो, ‘यसले रोजगारी प्रर्वद्धन गर्ने र वेरोजगारको सङ्ख्या कम गर्न थोरै भए पनि सहयोग गर्ने छ ।’ उहाँले स्मार्ट पार्किङको सुरुवातीसँगै त्यहाँको अनुगमन पनि गरिने जानकारी दिनुभयो । उहाँले त्यहाँका गतिविधि एकै पटक काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी र ब्हिल्स ट्रली योर्सले हेर्न मिल्ने प्रविधिको विकास गरेको जानकारी दिनुभयो । त्यो प्रविधिका कारण कसैले चिटिङ गर्न नसक्ने उहाँको भनाई थियो । उहाँले कुनै गुनासा र समस्या आए नयाँ ढंगले अघि बढ्ने पनि विश्वास दिलाउनुभयो ।

दिनभरी पार्किङ गर्ने व्यवस्थाको अन्त्य

मेयर शाक्यले दिनभरी पार्किङ गर्ने परम्पराको अन्त्यका लागि पनि यस्तो प्रविधिको सुरुवात गरेको जानकारी दिनुभयो । ‘सुरुसुरुमा समस्या हुन्छ । तर, विस्तारै यो सहज हुँदै जाने छ,’ उहाँले भन्नुभयो, ‘दिनभरी पार्किङ गरेर सडक कब्जा गर्ने परम्पराको अन्त्यका लागि पनि हामी विभिन्न उपायहरुको खोजि गरिरहेका छौँ ।’
अहिले पनि सडकमा बढी फोहोर मिल्काउने र दिनभरी सडक कब्जा गरेर पार्किङ गर्नेहरुले बढी मात्रामा महानगरपालिकालाई गाली गर्ने गरेको गुनासो गर्नुभयो । ‘ज–जस्ले सडक वा आफ्नो घर अघि फोहोर मिल्काउनछन्, उनीहरु नै सबै भन्दा बढी महानगरलाई गालि गर्छन,’ उहाँले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाले सबै काम आफैँ गर्नुपर्छ भनेका छैनौँ । काठमाडौँ महानगरपालिका सहकार्यमा काम गर्न चाहन्छ । यो महानगर सबैको हो । जोसँग क्षमता छ, जनशक्ति छ अनि स्रोत छ, त्यसैको सदुपयोग गरेर काठमाडौँ महानगर बनाउनुपर्छ । हामीले त्यहि प्रयास गरेका छौँ ।’

पिक एण्ड ड्रप लागु गर्दा सुरुमा आलोचना

उहाँले जे काम गर्दा पनि सुरुमा केही आलोचना हुने गरेको स्मरण पनि गराउनुभयो । ‘हामीले पिक एण्ड ड्रपको थालनी गर्दा शुरुमा निकै आलोचना खेप्नु पर्यो,’ उहाँले भन्नुभयो, ‘अहिले त्यस्ता गुनासो निकै कम भएका छन् । अझ त्यो नियम लागु नभएका ठाउँमा हाम्रो ठाउँमा पनि चाहियो भनेर माग बढी रहेको छ । मलाई लाग्छ यो स्मार्ट पार्किङ अहिले यहाँबाट शुरु गरेका छौँ । यसको माग सबैतिर हुनेछ ।’

महानगरका सबै सामुदायिक विद्यालयमा रंगरोगन

मेयर शाक्यले आगामी आर्थिक वर्ष भित्रमा काठमाडौँ महानगर भित्रका सबै सामुदायिक विद्यालयलाई रंगरोगन गर्ने बताउनुभएको छ । सोही कायक्रममा बोल्दै मेयर शाक्यले यस्तो बताउनु भएको हो । ‘एउटा खुशीको खवर आउने आर्थिक वर्ष भित्रमा काठमाडौँ महानगरभित्रका सबै सामुदायिक विद्यालयका भवनको रंगरोगन महानगरपालिकाले गर्ने छ,’ उहाँले भन्नुभयो, ‘अहिले नीजि विद्यालय बाहिरबाट हेर्दा त्यहाँ हाम्रा बालबच्चालाई पढाउन लैजाऔँ–लैजाऔँ जस्ता देखिन्छन । हामी अब सामुदायिक विद्यालयलाई पनि त्यस्तै बनाउँछौँ ।’

उहाँले सामुदायिक विद्यालयमा सौचालय, खेलमैदान निर्माण गर्ने जस्ता कुरामा पनि महानगरपालिकाले पहल गर्ने बताउनुभयो । ‘हामीले सामुदायिक विद्यालय परिसरमा फलफुलका विरुवा रोप्ने योजना पनि अघि बढाएका छौँ,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म महानगरपालिकाको काम बाटोघाटो बनाउने मात्र हो भन्ने छ । तर, हामीले त्यो बाहेक पनि धेरै काम गरेका छौँ ।’ उहाँले काठमाडौँ महानगरपालिकाले प्रहरीसँग मिलेर प्रहरी समुदाय साझेदारी कार्यक्रम घर–घरमा लिएर गएको पनि जानकारी दिनुभयो । एम्वुलेन्स सेवा सञ्चालन, स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा जस्ता कुराको थालनी पनि महानगरपालिकाले गरेको जानकारी मेयर शाक्लेले दिनुभयो ।

महानगर समृद्ध बनाउन सबै लागौँ, एक्लैले केही हुँदैन

मेयर शाक्यले काठमाडौँ महानगरपालिकालाई हेर्न र वस्न लायकको बनाउन सबैको एकमुष्ठ सहयोगको आवश्यक भएको पनि बताउनुभयो । ‘एक्लैले केही हुँदैन, काठमाडौँ महानगरपालिका तपाईँहरुसँग सहकार्य गरेर अघि बढ्न तयार छ,’ उहाँले भन्नुभयो, ‘हामी जनप्रतिनिधि, कर्मचारी लागि रहेका छौँ । तर, जसले हामीलाई काम गर्न भनेर चुनेर पठाउनु भएको छ । तपाईँहरुले नै सहयोग नगर्ने हो भने हामीले कल्पना गरेको बस्न लायकको काठमाडौँ शहर बनाउन सक्दैनौँ । जबसम्म हामीले परिणाम देख्दैनौँ । तबसम्म विश्वास गर्न सक्दैनौँ ।’

कहाँ–कहाँ छ स्मार्ट पार्किङ र कसरी पत्ता लगाउने ?

काठमाडौँ महानगरपालिकाले शुरुमा नयाँ सडकबाट सुरु गरेपनि आगामी दिनमा क्रमशः प्युखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्ग क्षेत्रमा बिस्तार गरिने छ । ब्हिल्स ट्रली योर्स प्रा. लि. का सूचना प्रविधि संयोजक हरिश अग्रवालले सेवाबाट सहरी पार्किङ् अस्तव्यस्ततामा सुधार ल्याउन प्रयास गरिने बताउनुभयो । योजनामा रहेका सबै ठाउँ सञ्चालनमा आएपछि एकपटकमा करीव ८०० वटा मोटरसाइकल र ४० वटा गाडी पार्किङ् गर्न सकिन्छ । ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ् सिस्टमबाट सञ्चालन हुनेछन् । नयाँ सडक जानु अघि उपभोक्ताले मोवाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ् गर्ने ठाउँ बुकिङ् गर्न सक्छन् । ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर पार्किङ् गर्ने ठाउँ हेर्न सक्छन् । त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरा सहितका पार्किङ् सहयोगीले सवारी चालकलाई सहयोग गर्नेछन् । उनीहरुसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधिलाई आवाजसहित रेकर्ड गरेर राख्न सक्छन् ।

दुई पाङ्ग्रेको २५ रचार पाङ्ग्रेको प्रति घण्टा ८० रुपैयाँ शुल्क

पार्किङ् गर्दा दुई पाङ्गे सवारीका लागि प्रति घण्टा २५ रुपैयाँ, चार पाङ्ग्रेका लागि प्रति घण्टा ८० रुपैयाँ शुल्क लाग्नेछ । यसरी संकलन गरिएको रकम सम्बन्धि रेकर्ड सिधै्र महानगरको प्रणालीमा जानेछ । यसबाट राजस्व छलि गर्ने सम्भावना नहुने अधिकारीको भनाइ छ । यो प्रणालीबाट पार्किङ् स्थान बुकिङ् गर्न पार्क केटिएम मोवाइल एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । यो एप्लिकेसन एन्ड्रोइड र इओएस दुवै सिस्टमका मोवाइलमा उपलब्ध हुनेछ । यो एप्लिकेसनमा पार्किङ् गर्ने ठाउँको उपलब्धताका बिषयमा जानकारी दिनेछ । त्यसै सूचनाका आधारमा पार्किङ् गरिने सवारीको प्रकार (२ पाङ्ग्रे हो वा ४ पाङ्ग्रे हो) वटम थिचेर जानकारी दिनुपर्छ । यसपछि आफूले पार्किङ् गर्न चाहेको ठाउँ छनौट गर्ने ठाउँमा पुगिन्छ । त्यहाँ दिइएका ठाउँमध्ये आफूले चाहेको ठाउँमा बुकिङ् गर्न सकिन्छ । यो प्रक्रिया वा बुकिङ् गरिसकेको ठाउँ वा अन्य कुनै अन्यौलता समाधान गर्न ९८०१५७१५४० टोल फ्रि नम्बरमा सम्पर्क गर्ने व्यवस्था गरिएको छ ।

केटिएम एप्स

यो सुविधान लिनका लागि एप स्टोरमा गएर पार्क केटिएम एप्स डाउनलोड गर्नुपर्छ । एप्स डाउनलोड गरेपछि जुनसुकै स्थानमा रहेर पनि आफूलाई चाहिने स्थानको पार्किङ बुकिङ गर्न सकिन्छ । एप्समा उपलब्ध हुने नम्बरमा फोन गरेर पार्किङ बुकिङ गर्नुपर्ने हुन्छ । यद्यपि, १५ मिनेट भित्र बुकिङ स्थानमा सवारी साधन नपुगे स्वतः बुकिङ रद्द हुन्छ । एप्समा कुनै समस्या आए निशुल्क टोल फ्रि नम्बर ९८०१५७१५४० मा सम्पर्क गर्न सकिने छ । अत्याधिक र सुरक्षित पार्किङ रहेकाले ढुक्कसँग आफ्नो सवारी साधन पार्किङ गरेर घुमफिर र सपिङमा निस्कन सकिने छ । पार्किङमा ४८ ओटा सीसी क्यामेरा जडान गरिएको छ । जसले पार्किङ तगा त्यस क्षेत्रको शान्तिसुरक्षामा ढुक्क हुन सहयोग गर्ने छ ।