केरुङ काठमाडौँ रेलमार्गबारे बेइजिङमा छलफल हुँदै

maitrinews

काठमाडौं । केरुङ काठमाडौं रेलमार्ग परियोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआरबारे छलफल गर्न नेपाली टोली चीन गएको छ । बेल्ट एन्ड रोड इनिसियटिभ बीआरआईमा सूचीकृत नेपाल र चीनलाई जोड्ने यो रेलमार्ग निर्माणको प्रक्रिया अघि बढाउनेबारे छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्की नेतृत्वको टोली चीन गएको हो । चीनमा चौंथो नेपाल चाइना रेल्वे बैठकमा रेलमार्ग निर्माण्को प्रक्रिया अघि बढाउनेबारे छलफल हुदै छ ।
परियोजनामा लगानीको लागि अनुदान वा के र कति हुने भन्नेबारे छलफलसमेत भएको छैन । तर, गत वर्ष नै चीन भ्रमणका समयमा नेपालले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यो परियोजनामा चीनले पूर्णरुपमा अनुदान उपलब्ध गराउनुपर्ने प्रस्ताव गरेका थिए । तर, चीन भने ऋण लगानीको पक्षमा छ ।

करिब ७३ किलोमिटर लामो रेलमार्ग बनाउन ९ वर्ष लाग्नेछ । रेलमार्गमा ९८।५ प्रतिशत पुल र सुरुङमार्ग हुने प्रारम्भिक अध्ययनले देखाएको छ । यो रेलमार्ग दुई टेक्टोनिक प्लेटको भागमा पर्ने भएकाले भूकम्पीय हिसावले पनि जोखिमपूर्ण क्षेत्रमा बन्छ । यसले गर्दा ठूलो लगानी आवश्यक देखिन्छ ।

नेपालले चीनलाई आफूहरुसँग रेलमार्गबारे खासै ज्ञान र प्रविधि पनि नभएको भन्दै चीन सरकारले नै विस्तृत सम्भाव्यता अध्ययन गर्नुपर्ने प्रस्ताव गरेको छ । यो खण्डमा अध्ययन गर्न नै कठीन रहेको भन्दै चीनले त्यसका लागि नेपाल सरकारले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिने गरेका छन् ।

यस्तै सम्भाव्यता अध्ययनका क्रममा चाहिने अत्याधुनिक सामग्रीको प्रवन्धन र फिल्डमा क्याम्प खडा गर्न जग्गा प्राप्ति लगायतका प्रक्रियाबारे पनि चिनियाँ पक्षले चासो राखेको थियो ।
नेपाल र चीनबीच ८ चैत ०७२ मा चीनसँग व्यापार र पारवहनसम्बन्धी महत्वपूर्ण समझदारी भएको थियो । १३ औं बुँदामा रसुवागढी(काठमाडौं र काठमाडौं(पोखरा(लुम्बिनी रेलमार्ग परियोजनाका लागि आर्थिक तथा प्राविधिक सहयोगको विषय समेटिएको थियो ।