दीर्घ जीवन र सुख आफ्नै कर्मको प्रतिफल

maitrinews

दीर्घ जीवन र सुख प्राप्ति सवैको चाहना हो । तर यो पाउन सहज भने छैन । कोही सम्पन्न व्यक्तिको आयु कम भई जवान छदाँ नै देहत्याग गर्न सक्छ । त्यस्तै कोही व्यक्तिको आयु लामो त हुन्छ । तर दरिद्र र रोगी जीवन व्यतित गरिरहेको हुनसक्छ । कारण र अवस्था दुवै मिलेको अवस्थामा मात्र जीवनमा पुण्य र सुख दुवै प्राप्त हुन्छ । दीर्घ जीवन र सुखका लागि के गर्न सकिन्छ त ? सुख भाग्यसँगै यत्तिकै आकाशबाट खस्ने कुरा पक्कै होइन । कसैले दिनसक्ने कुरा पनि होइन । यी सवै हाम्रो कर्म अनुसार प्राप्त हुने गर्दछ । व्यक्तिको असल व्यबहार र कर्मले लामो जीवन र असिमित सुख प्रदान गर्दछ । खराव कर्मले सुखको अवस्थालाई निमित्यान्न पारिदिन्छ ।
बुद्धशिक्षामा पञ्चशीलका कुराहरु छन् । जसमा भनिएको छ, नचोर्नेहरु सुखी हुन्छन् , हत्या नगर्नेहरु लामो आयु बाँच्छन् । यसरी पञ्चशील पालन गर्नेहरु दीर्घ र सुखी जीवन बाँच्छन् । धम्मपदमा भनिएको छ , जसले आफु भन्दा ठूलाबडाको आदर सम्मान गर्दछ , उसले चार प्रकारका लाभ प्राप्त गर्दछ । ती हुन् रुप , बलशक्ति , दीर्घायु र सुख । भनिन्छ, असल हृदय र असल जीवनले दीर्घ जीवन र श्रीसम्पत्ति प्राप्त हुन्छ । असल जीवन र खराव हृदयले लाभलाई संकटमा परिणत गर्दछ । असल हृदय र खराव जीवनमा संकट पनि लाभ भईदिन्छ । खराव हृदय र खराव जीवनले आपद् विपद् र गरिवी ल्याउँछ ।
मानिस आफैले भाग्य दुर्भाग्यको सृजना गर्दछ । सुखी र दीर्घ जीवन दया, हृदय, चरित्र निमार्णसँग आवद्ध हुन्छ । अकुशल कर्मले क्षणिक सुख प्राप्ती हुन हुनसक्ला तर भविष्यमा यसले दुख नै निम्त्याँउँछ । जस्तै कसैले अरुको सम्पत्ति चोरेमा उसले क्षणिक सुख त पाउँछ तर अपराधको खुलासा भएपछि ऊ दण्डित हुनैपर्छ । र, जसले अरुको भलो चिताएर काम गर्छ उसलाई आएको दुख पनि अन्तमा आशिर्वादमा परिणत हुन्छ ।