ड्रोन खसालेर इरानले भयङ्कर गल्ती गर्यो : ट्रम्प

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले भयङ्कर गल्ती गरेको तर त्यो अन्जानमा भएको हुनसक्ने टिप्पणी गरेका छन्।
उनले ड्रोन खसाल्ने काम शायद केन्द्रीय आदेश बिना कोही मूर्खले गरेको हुन सक्ने सङ्केत गरे।
तर उनले त्यो काम ठूलो गल्ती भएको दोहोर्याएका छन्।
मानवरहित उक्त ड्रोन विमान आफ्नो हवाई क्षेत्रमा आएकाले खसालिएको इरानको भनाइ छ।
उसले सो ड्रोनका टुक्रा आफ्नो समुद्री क्षेत्रबाट बटुलेको पनि बताएको छ।
तेहरानले भनेको छ उक्त अमेरिकी ड्रोन आफ्नो हवाई क्षेत्रमा घुसेकाले उसले जानाजान नै त्यसलाई खसालिदिएको हो।
संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत माजिद तख्त राभान्चीले उक्त ड्रोन विमान स्पष्ट रूपमा जासुसी कारबाहीमा संलग्न रहेको र त्यसले अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन गरेको बताए।
संयुक्त राष्ट्रसंघका महासचिव एवं सुरक्षा परिषदलाई एक पत्र लेख्दै राभान्चीले इरानले युद्ध नखोजेको तर आफ्नो क्षेत्रमा गरिने दुश्मनी कार्य रोक्ने अधिकार आफूसँग सुरक्षित रहेको बताएका छन्।
तर राष्ट्रपति ट्रम्पले चाहिँ उक्त ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमा रहेको दोहोर्याएका छन्।
ूयो केवल शब्दमात्र होइन यसबारे पूरै वैज्ञानिक दस्तावेज हामीसँग छ,ू ट्रम्पले भने।