बाढीले पैयुँका ८ परिवार विस्थापित

maitrinews

 

पर्वत । शनिबारदेखि परेको पानीसँगै मोटरबाटोबाट आएको बाढी घरभित्र पस्दा पैयुँ गाउँपालिका–४ का ९ घरमा क्षति पुगेको छ । स्थानीय गेउदीखोलामा आएको बाढी धरमपानी–पैयुँकोट सडकको बाटो हुँदै बस्तीमा पसेको हो ।
राति करिब २ बजेको समयमा बाढी घरभित्र पसेपछि सुतिरहेका सर्वसाधारणले भागेर ज्यान जोगाएको स्थानीयले बताए । बाढीले मोतीलाल पौडेल, गोपबहादुर सार्की, हिमलाल तिवारी, लिलादेवी पौडेल, विनोद हमाल, सोमनाथ तिवारी, मोतिलाल रिजाल र गोविन्द पौडेलको परिवार बिस्थापित भएको वडाध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार गोपबहादुर सार्की र विनोद हमालको घर बाढीले बगाएको छ । घर बगेपछि उनीहरु छिमेकीको आश्रयमा छन् । बाढीले करिव ८० रोपनी खेतीमा लगाएको बालीसहित खेत पुरेको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय हुवासबाट खटिएको प्रहरी टोली र स्थानीयले उद्दार र क्षतिको विवरण संकलन गरेका छन् । पछिल्लो वर्ष सडक स्तरोन्नतिका लागि पर्वतका सबैजसो वडाहरुमा काम भैरहेको छ ।

सडक खन्दा निस्केको माटो र ढुंगा व्यवस्थापन नगरिएका कारण त्यसले बाढी र पहिरोको रुप लिँदै आएको छ । जथाभावी खनिएका सडकबाट निस्केको माटो–ढुंगाका कारण मनसुन सक्रिय भएपछि बाढी र पहिरोको जोखिम बढेको छ ।

यस्तै वर्षाका कारण शनिबार राति जिल्ला समन्वय समितिको भवन भाँसिएको छ । समन्वय समितिको भवनभित्र पानी जमेपछि समितिका दुई कोठा भाँसिएको समन्वय समितिले जनाएको छ ।