पेट्रोलियम पाइप लाइनको परीक्षण सकियो

maitrinews

 

काठमाडौँ । नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षण भएको छ । परीक्षण सकिएसँगै असार महिनाको अन्त्यसम्ममा सञ्चालनमा आउने पाइपलाइन विस्तार आयोजनाले जनाएको छ ।
भारतको मोतिहारीदेखि रक्सौल अमलेखगञ्जसम्म नेपाल भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको सफल परीक्षण भएपछि प्राविधिकले यसै महिनाभित्र सो पाइपलाइन सञ्चालनमा आउन सक्ने आँकलन गरेका छन् । परीक्षणको क्रममा नेपाल आयल निगम र इण्डियन आयाल कर्पोरेशनका प्राविधिकको संयुक्त टोलीले भारतको मोतिहारीबाट सो पाइपलाइनमा पानी पठाएर गरेको परीक्षण सफल भएपछि अब निकट भविष्यमै उक्त पाइपलाइन सञ्चालनमा आउने परियोजना कार्यालय सिमराले जनाएको छ ।
नेपालको लाइफ लाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७० दशमलव २ किलोमिटर लम्बाइको सो पाइप लाइन बिछ्याउने काम पूर्णरुपमा सम्पन्न भई पाइपमार्फत पठाएको पानीको प्रेसर बाराको अमलेखगञ्जसम्म सफलरुपमा आइपुगेकाले परीक्षण सफल भएको प्राविधिकले जनाएका छन् ।