कोमामा रहेका २८ नेपाली कामदारलाई स्वदेश फर्काउने निर्णय

maitrinews

 

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा कोमामा रहेका २८ नेपाली कामदारलाई स्वदेश फिर्ता ल्याइने भएको छ।

वैदेशिक रोजगार बोर्डका अध्यक्ष समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको अध्यक्षतामा बसेको बैठकले कोमामा भएका बिरामी ल्याउने निर्णय गरेको हो।

वैदेशिक रोजगारीको क्रममा करार अवधिभित्र दुर्घटनामा परी गम्भीर चोटपटकका कारण कोमामा उपचाररत् तथा पक्षधातबाट हिँडडूल गर्न नसक्ने अवस्थामा रहेका सबै बिरामीलाई सरकारले स्वदेश फर्काउने प्रक्रिया सुरु गर्न लागेको हो।

दक्षिण कोरिया, साउदी अरब, कतार, कुवेत, युएईलगायतका मुलुकका विभिन्न अस्पतालमा २८ जना नेपाली यस्तो अवस्थामा उपचाररत् छन्। उनीहरुलाई स्वदेश ल्याई उपचार गराउने सरकारले निर्णय गरेको हो।

कोमामा रहेका बिरामी फर्काउनका लागि बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन भएको छ।