न्युयोर्कमा इहि सम्पन्न

maitrinews

 

न्युयोर्क । नेवा गुठी न्युयोर्कले पाँचौँ पटक न्युयोर्कमा नेवारहरुको विशेष कार्य इहि सम्पन्न गरेको छ । सो कार्यक्रम ज्याक्सन हाइटको शेर्पा केदुगमा एक विशेष कार्यक्रम गरी सम्पन्न गरिएको हो ।
यो नेवारहरुले कन्यालाई गरिने विशेष किसिमको पूजा हो जसलाई इहि भनिन्छ । इ को अर्थ समय र हि को अर्थ रगत हो । कन्याहरु रजस्वला हुनुभन्दा पहिलो यो पूजा गरिन्छ । यसमा कन्यालाई विशेष प्रकारको मन्त्रोचारण र पूजा गरी आफ्नो इस्ट देवता (विष्णु भगवानको प्रतीक) सित विवाह गराइन्छ । बेल अर्थात् भगवान शिवको प्रतीकलाई साक्षी राखी यो कार्य सम्पन्न गरिन्छ ।
नेवारहरु इहिभन्दा पहिले कन्यालाई कुमारीका रुपमा पूजा गर्छन् । इहिपछि कन्यालाई लक्ष्मीका रुपमा पूजा गरिन्छ ।
इहि कार्यक्रम पण्डित वसव राजोपाध्यायले विशेष मन्त्रोच्चारण र पूजापाठ गरी सञ्चालन गर्नुभएको थियो भने उहाँको पूजापाठमा राजु तुलाधर र सिर्जना तुलाधरले सघाउनुभएको थियो ।
नेवा गुठी न्युयोर्कले नेवारहरुका यस्ता महत्वपूर्ण कार्यक्रम गर्दै आएको छ । इहि कार्यक्रम वार्षिकरुपमा गर्दै आएको गुठीका अध्यक्ष निर्मल प्रधानले बताउनुभयो । यस पटक चार जना कन्याको इहि सम्पन्न गरियो ।