६ वटै महानगरपालिकाले ल्याए बजेट, काठमाडौँ महानगरको बजेट १५ अर्ब ५० करोड

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६–७७ का लागि १५ अर्ब ५० करोड ७० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । उपमेयर हरिप्रभा खड्गीले नगरसभामा साढे १५ अर्बको विनियोजन विधेयक प्रस्तुत गरेकी हुन् । भौतिक पूर्वाधारका लागि ४ अर्ब ३१ करोड, सामाजिक विकास कार्यक्रमका लागि १ अर्ब ५२ करोड, शिक्षाका लागि एक अर्ब ३५ करोड बजेट विनियोजन गरिएको छ ।

पर्यटन तथा सम्पदा संरक्षणका लागि ६७ करोड, हनुमान ढोका संरक्षण कार्यक्रमका लागि करिब ५५ करोड, वातावरण तथा उद्यान व्यवस्था कार्यक्रमका लागि ३१ करोड ८५ लाख, शहरी योजना सम्बन्धी कार्यक्रमका लागि २९ करोड र सार्वजनिक निजी साझेदारी कार्यक्रमका लागि १६ करोड ८१ लाख रुपैयाँ बजेट छ्ट्याइएको छ । सूचना तथा सञ्चारका लागि १६ करोड, जनस्वास्थ्य सेवा कार्यक्रमका लागि १२ करोड, विपद व्यवस्थापनका लागि ७ करोड, अन्तर्रा्ष्ट्रिय सम्बन्ध प्रवर्द्धनका लागि ६ करोड ५९ लाख, कृषि तथा पशुसेवाका लागि ६ करोड, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५–०७६ का लागि ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ । आज पाँचौ नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्नुभएको हो । महानगरले संघीय सरकारबाट ३ अर्ब ३३ करोड ७८ लाख, प्रदेशबाट ४७ करोड ९६ लाख र आन्तरिक आयबाट २ अर्ब ५० करोड २९ लाख रुपैयाँ अनुमान गरेको छ । कुल बजेट विनियोजनमा अपुग हुन जाने रकम वैदेशिक अनुदान तथा ऋणबाट १० करोड र जनसहभागिताबाट ३६ करोड ५० लाख व्यहोर्ने महानगरको योजना छ । महानगरको नगद मौज्दात २२ करोड रुपैयाँ छ । महानगरले पूर्वाधार विकासलाई जोड दिँदै कुल बजेटको ३६ प्रतिशत छुट्याएको छ । सामाजिक विकासका लागि १० प्रतिशत बजेट विनियोजन भएको छ ।

उपप्रमुख मञ्जुदेवी गुरुङले प्रस्तुत गरेको बजेटमा नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानतर्फ ६० करोड २ लाख छ । सशर्त अनुदानतर्फ १ अर्ब १७ करोड २७ लाख छ । विशेष अनुदानतर्फ १५ करोड, समपुरक अनुदानतर्फ १७ करोड र राजस्व बाँडफाँडबापत ४१ करोड ९९ लाख प्राप्त हुने बजेटमा उपमेयर गुरुङले बजेट वक्तव्यमार्फत जानकारी दिइन् । प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ २ करोड १४ लाख, सशर्त अनुदानतर्फ २ करोड, विशेष अनुदान १२ करोड, सम्पुरक अनुदान २० करोड र प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँड तर्फको आय ३ करोड ८२ लाख अनुमान गरिएको बजेटमा उल्लेख छ । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक बर्ष ०७६–०७७ का लागि ४ अर्ब ४८ करोडको बजेट सार्वजनिक गरिसकेको छ ।

त्यसैगरी हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को लागि रु एक अर्ब ८१ करोड १८ लाखको बजेट ल्याएको छ । उपमहानगरपालिकाको पाँचौँ नगरसभा बैठकमा बजेट प्रस्तुत गरिएको हो । उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाले प्रस्तुत गर्नुभएकोे बजेटमा आन्तरिक स्रोतबाट रु ३० करोड ३४ लाख ९१ हजार, राजश्व बाँडफाँटबाट रु ४५ करोड ८४ लाख नौ हजार, प्रदेश नं ३ सरकारको विभिन्न अनुदानबाट रु आठ करोड ३४ लाख ९९ हजारको बजेट प्रस्ताव गरिएको छ । त्यसैगरी सङ्घीय सरकारको अनुदानबाट रु ८६ करोड ६४ लाख प्राप्त हुन जनाइएको छ । उपमहानगरपालिकाको गत वर्षको नगद मौज्दातबाट रु १० करोड बेहोरिने उपप्रमुख लामाले बताउनुभयो ।
बजेटमा तलब, भत्तालगायत दैनिक कार्यालय सञ्चालन र अन्य प्रशासनिक खर्चका लागि रु १९ करोड १४ लाख ४० हजार विनियोजित गरिएको उपप्रमुख लामाले बताउनुभयो ।

कार्यालयको सुशासनतर्फमा रु छ करोड ४५ लाख ८९ हजार छुट्याइएको छ । नगरको सामाजिक क्षेत्रतर्फका कार्यक्रमका लागि रु ५८ करोड ५५ लाख ४३ हजार छुट्याइएको छ । उपमहानगरपालिकाले पूर्वाधार विकासका लागि रु ८६ करोड १२ लाख ५० हजार छुट्याइएको उपप्रमुख लामाले बताउनुभयो ।