काठमाडौँ भित्रका १७७ स्थानको घडेरीको मूल्य सार्वजनिक

maitrinews

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ भित्रका १ सय ७७ स्थानको घडेरीको मूल्य सार्वजनिक गरेको छ । महानगरपालिकाको प्रमुख सडक र सडकको दायाँबायाँ जग्गाको सम्पत्ति कर मूल्याङ्कनका लागि घडेरीको मूल्य निर्धारण गरेको हो । महानगरले पेश गरेको आर्थिक वर्ष २०७६ ÷०७७ को बजेटमा घडेरीको मूल्य सार्वजनिक भएको हो । यही मूल्यका आधारमा महानगरले कर उठाउनेछ ।

काठमाडौँ उपत्यकामा घडेरीको मूल्य निकै महङ्गो छ । महानगरले प्रतिआना ४ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको मूल्याङ्कन गरेको छ । पछिल्लो समय काठमाडौँमा घडेरीको मूल्य अकाशिएको छ । ५० लाख रुपैयाँ भन्दा महंगा घडेरी पनि छन् । तर महानगरले अधिकतम ५० लाख रुपैयाँसम्मको प्रतिआना घडेरीको मूल्याङ्कन गरेको छ ।

मनोहरा पुल, अरनिको राजमार्ग, चक्रपथ, रिङरोड, गैह्रीगाउँ तिलगंगा सिनामंगल, गौशला चावहिल हुँदै मालपोत कार्यालयको सिमानासम्मको जग्गा प्रतिआना २८ लाख रुपैयाँसम्म तोकिएको छ ।

यता बालकुमारी पुलदेखि कोटेशवर हुँदै तिनकुने मिनभवन, नयाँबानेश्वर, विजुलीबजार थापाथली, त्रिपुरेशवर हुदै विष्णुमती पुलसम्म मूलसडकसँग जोडिएको जग्गाको प्रतिआना मूल्य ३२ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

सबैभन्दा महङ्गो मूल्याङ्कन हनुमानढोका, न्युरोड, ठमेल, केशरमहल, जमल, दरबारमार्ग, माइतीघर, त्रिपुरेश्वर, कमलादी, पुतलीसडक, भद्रकाली लगायतको मूल्य प्रतिआना ५० लाख निर्धारण गरेको छ ।

बाटो नभएको घडेरी प्रतिआना ४ लाख रुपैयाँ, गोरेटो बाटो भएको घरेडी प्रतिआना सात लाख रुपैयाँ, कच्ची मोटरबाटो भएको घडेरी १२ लाख रुपैयाँ प्रति आना पर्छ ।

यसैगरी, सहायक पक्की सडकको घडेरी १३ लाख रुपैयाँ प्रतिआना पर्छ । सोल्टीमोडदेखि हिमालय हाइट र छिन्नलता पुस्तकालयसम्मको पक्की सडक वरपरको घडेरी प्रतिआना १५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

सीतापाइला चोकदेखि छाउनी वडा नं। १३ सिमानसम्को मुल सडकको घडेरी प्रतिआना १६ लाख रुपैयाँ निर्धारण गरिएको छ । महानगरले वडा नं। १५ अन्र्तगतको गोरेटोबाटोको घडेरी ९ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ सोही वडाको बाटो नभएको घडेरी सात लाख प्रतिआना निर्धारण भएको छ ।

डिल्लीबजारदेखि पुतलीसडक जोड्ने ओरालो बाटो जोडिएको दाया बायाँका जग्गाहरु प्रतिआना ३० लाख रुपैयाँ निर्धारण गरिएको छ ।