कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

maitrinews

 

काठमाडौ । रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरिया जानका लागि गत जेठ महिनामा भएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
इपीएस कोरियाले गएराति नतिजा सार्वजनिक गरेको हो । इपीएस कोरिया शाखा नेपालले भने आज बिहान १० बजेपछि मात्रै नतिजा सार्वजनिक गरिने इपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिनुभयो ।

सन् २०२० का लागि आवेदन दिएका परीक्षार्थी मध्ये १२ हजार १५ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । यो कोरियाले कामदारका रुपमा लैजान निर्धारण गरेको कोटा भन्दा २ हजार बढी हो ।

परीक्षा दिने परीक्षार्थीमध्ये कृषिका लागि ३७ ल्याउने पास भएका छन् भने उत्पादनमूलक क्षेत्रका लागि परीक्षा लेख्ने ३८ ल्याउने पास भएका छन् ।

कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका ९२ हजार ३ सय ५६ जना परीक्षार्थीमध्ये ८४ हजार २ सय १५ जना भाषा परीक्षामा सहभागी भएका थिए ।

आगामी वर्ष सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ । यस परीक्षाबाट उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार छनोट गरी लैजान भएको हो ।