अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किमबीच उत्तर कोरियाली भूमिमा पहिलोपटक भेटवार्ता

maitrinews

 

उत्तर कोरिया । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दक्षिण र उत्तर कोरियाको सैनिकरहित सीमा क्षेत्रमा भेटवार्ता भएको छ।

उत्तर कोरियाली नेता र अमेरिकी राष्ट्रपतिबीच सीमा क्षेत्रमा वार्ता भएको यो पहिलो पटक हो।

आइतबार दिउँसो दक्षिण कोरियाली समकक्षी मुन जाइ इनसँगै राष्ट्रपति ट्रम्प उत्तर र दक्षिण कोरियाको सैनिकरहित क्षेत्रमा पुग्नुभएको थियो ।

ट्रम्पलाई भेट्न किम प्योङयाङदेखि आउनुभएको थियो। दुबै नेताले सैनिकरहित क्षेत्रमा हात मिलाउनुभएको थियो।

त्यसपछि ट्रम्प र किम उत्तर कोरियाको सीमाभित्र जानुभएको थियो। ट्रम्प उत्तर कोरियाको सीमाभित्र जाने पहिलो अमेरिकी राष्ट्रपति हुनुभएको छ। यसअघि पदमा रहँदा कुनै पनि राष्ट्रपति उत्तर कोरियाको सीमाभित्र पुगेका थिएनन्।

भेटघाटपछि दुबै नेता संयुक्त पत्रकार सम्मेलनमा उपस्थित हुनुभएको थियो। पत्रकार सम्मेलनमा ट्रम्पले आजको भेटघाट ऐतिहासिक घटना भएको बताउनुभयो ।

ट्रम्प र किमबीच गत फेब्रुअरीमा भियतनामको हनोईमा भएको दोस्रो शिखर वार्ता भएको थियो । पछिल्लो समय ट्रम्प र उनको सम्बन्ध सुधार हुँदै गएको छ।
अघिल्लो सातामात्र ट्रम्पले किमलाई चिठी पठाउनुभएको थियो। किमले चिठी निकै महत्वपूर्ण भएको बताउनुभएको थियो ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले ट्रम्पको दक्षिण कोरिया भ्रमणले उत्तर कोरियासँगको वार्ता सुचारू गराउन आधार निर्माण गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।