नेपाल वायु सेवा निगमलाई उडान बढाउन निर्देशन

maitrinews

 

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायु सेवा निगमले व्यवस्थापनलाई तत्काल सुधार गर्नुपर्ने बताउनुभएको छ । निगमको ६१ औं वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले निजी विमान कम्पनीहरु सबै नाफामा जाने तर सरकारी विमान कम्पनी मात्र निरन्तर घाटामा जानुको कारण के हो भनेर प्रश्न गर्नुभएको छ । “वायु सेवा निगम ६१ बर्षमा ३७ अर्ब घाटामा गएछ यसको कारण के हो रु” प्रधानमन्त्री ओलीले भन्नुभयो “यथास्थितीमा निगमलाई सरकारले एक पैसा पनि दिदैन । ”

प्रधानमन्त्री ओलीले व्यवस्थापनले स्पष्ट कार्ययोजना सरकारलाई पेश गर्नु पर्ने र त्यसलाई कार्यन्वयन गर्ने दृढता पनि हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले निगमको व्यवस्थापन तत्काल सुधार गर्नु पर्ने बताउनुभएको छ । आकासमा उड्नु पर्ने निगमका जहाज सधैं विमानस्थलमा देखिनुले पनि निगमको व्यवस्थापन पक्ष कस्तो छ भनेर अनुमान गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

“एकपटक एयरपोट निगमका जहाज बग्रेल्ती देखेपछि मैले सोधें,नेपाल एयरलाइन्सका जहाज त धेरै रहेछन् नि ” केही समय अघिको प्रसंग स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “तर मैले जवाफ पाएँ कि यी जहाज नउडेर यहाँ देखिएका हुन् । उडेका भए सबै जहाज आकासमा हुन्थे । निगम पनि नाफामा जान्थ्यो । ” निगमका निर्णयहरु हचुँवाका भरमा हुने गरेको प्रधानमन्त्रीले बताउनुभएको छ । “गन्तव्य कहाँ हो थाहा छैन वाइड बडी किनेको छ ,पाइलट छैन जहाज किनेको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस प्रकारका निर्णयले निगम धरासायी हुदै गएको हो । ” प्रधानमन्त्री ओलीले जापानको नारिता विमानस्थल र युरोपियन देशहरुमा उडानको तयारी गर्न पनि व्यवस्थापनलाई निर्देशन दिनुभएको छ ।