सरकारका सकारात्मक कामलाई जनतामाझ लैजानुस् : प्रधानमन्त्री

maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका सकारात्मक काम कारवाहीलाई जनताका माझमा लैजान सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० संसदीय दलको बैठकलाई आज सङ्घीय संसद् भवन नयाँबानेश्वरमा सम्बोधन गर्दै उहाँले सरकार जनअपेक्षाअनुसार नै अगाडि बढिरहेको भए पनि जनताका बीचमा पुग्न नसकेको भन्दै प्रभावकारी रुपमा प्रचार गर्न निर्देशन दिनुभएको हो । नेकपा संसदीय दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री ओलीले सरकारका काम कारवाही, आगामी आर्थिक वर्षको बजेट, सरकारले सदनमा प्रस्तुत गरेको विभिन्न विधेयकका सम्बन्धमा सांसदहरुलाई जानकारी गराउनुभएको थियो ।

इतिहासले वर्तमान सरकार र नेकपालाई ऐतिहासिक र महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै प्रधानमन्त्रीले उक्त जिम्मेवारी पूरा गरेरै छाडिने स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले सांसदहरुलाई स्पष्ट दृष्टिकोणका साथ सदनमा प्रस्तुत हुन आग्रह गर्दैै विगतमा केही कमीकमजोरी भएका भए त्यसलाई आगामी दिनमा सुधार गरेर जाने विश्वास दिलाउनुभयो । सरकार आफ्नो गतिमा स्पष्ट रहेको र थोरै समयमा गर्नुपर्ने जति काम अगाडि बढाइएको जानकारी दिँदै विरोधका लागि विरोध गर्ने प्रवृत्तिले गलत मात्रै देख्ने भएकाले त्यसप्रति सचेत हुन उहाँले आग्रह गर्नुभयो ।

विकास निर्माणको कामसमेत प्रभावकारी रुपमा अगाडि बढेको भन्दै प्रधानमन्त्रीले भौतिक पूर्वाधार, सडक निर्माणमा उल्लेख्य प्रगति भएको भन्दै आगामी वर्ष झन् नयाँ नयाँ उपलब्धि देखिने बताउनुभयो । उहाँले सरकारले आवश्यकताका आधारमा केही विधेयक प्रस्तुत गरेकाले विषयवस्तुमा रहेर छलफल गर्न र सच्याउने ठाउँ भएको अवस्थामा त्यसलाई सच्याइने भएकाले सोही अनुसार प्रस्तुत हुन सांसदहरुको ध्यानाकर्षण गराउनुभयो ।

संसदीय दल, सांसद र शीर्ष नेतृत्वबीच अन्तरक्रिया गर्ने तथा पछिल्ला दिनमा सरकार, संसद्मा र संसद्बाहिर उठेका विषयवस्तुमा प्रस्ट पार्ने ध्येयका साथ आज प्रतिनिधि र राष्ट्रियसभामा रहेका नेकपाका सांसदहरुसँग अन्तरक्रियात्मक छलफलको आयोजना गरिएको संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले पार्टी एकताको बाँकी काम यसै महीनाभित्र सम्पन्न गर्ने गरी काम भइरहेको समेत जानकारी दिनुभयो । प्रधानमन्त्रीले जनताको भरोसा टुट्न नदिन पार्टी एकताबद्ध हुनुको विकल्प नभएको स्पष्ट पार्नुभयो । “हामीप्रति जनताको ठूलो भरोसा छ । त्यसलाई टुट्न दिनु हँुदैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसका लागि हामी सबैले जो जहाँ छौँ त्यसै अनुसारको जिम्मेवारी निर्वाह गर्नुपर्दछ ।”

बैठकपछि नेता गुरुङले भन्नुभयो, “सरकारको काम कारवाही, पार्टी एकताका बाँकी काम र विचाराधीन विभिन्न विधेयक एवम् शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने विषयमा आजको बैठकमा महत्वपूर्ण छलफल भयो ।”

असारभित्रै पार्टी एकताको काम सकिन्छ ः अध्यक्ष दाहाल
बैठकका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका क्रममा तीन महीनाभित्र टुङ्ग्याउने भनिएको एकता प्रक्रिया विभिन्न कारणले ढिलाइ भए पनि असारभित्रै सम्पन्न गरिने विश्वास दिलाउनुभयो । उहाँले पार्टी एकताको कामलाई टुङ्गो लगाएर पार्टीलाई नयाँ गति दिने र जनताका बीचमा जाने गरी नीति कार्यक्रम तथा योजनासमेत तय गरिने स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “हामीले ठूलो आँट गरेर पार्टी एकता गरेका हौँ । विभिन्न कारणले गर्दा तोकिएको समयमा पूरा हुन सकेन । त्यसलाई अब हामी छिट्टै पूर्णता दिन्छाँै ।” प्रधानमन्त्री र आफ्नो बीचमा हरेक विषयमा सल्लाह हुने र छलफलका आधारमा नै सबै विषयलाई अगाडि बढाउने गरिएको भन्दै अध्यक्ष दाहालले आफूहरु एकै डुङ्गामा सवार भएकाले पनि त्यसलाई पार लगाउनु जरुरी रहेको उल्लेख गर्नुभयो ।

बैठकमा सांसदहरुको गुनासो
संसदीय दलको बैठकमा नेकपाका सांसदहरुले सरकारको काम कारवाही प्रभावकारी हुन नसकेको, अन्तरक्रिया गर्ने वातावरण नभएको, समानुपातिक रुपमा आगामी आर्थिक वर्षको बजेट विनियोजन नभएको जस्ता विषयमा नेतृत्वको ध्यानाकर्षण गराउनुभएको थियो । पार्टी एकताको बाँकी काम पूरा नहुँदा देशव्यापी रुपमा नेता तथा कार्यकर्ता बेरोजगार भएका, स्थानीय तहमा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्नेतर्फ पहल नभएको भन्दै सांसदहरुले गुनासो गर्नुभएको थियो ।

सरकार ठीक बाटोमा हिँडेको छ भन्ने जनतालाई जानकारी दिनसमेत पार्टीभित्र सघन छलफल हुनुपर्ने भए पनि त्यस्तो नभएको भन्दै सांसदहरुले त्यसलाई सच्याएर जानुपर्नेमा जोड दिनुभयो । बजेट राम्रो आए पनि समानुपातिक रुपमा वितरण नभएको भन्दै किन त्यस्तो भयो भन्दै सांसदहरुको गुनासो थियो । बैठकमा सहभागी सांसद देवेन्द्र पौडेलले पार्टी एकता, सरकारका काम कारवाही, बजेटलगायतका विषयमा सांसदहरुले आ–आफ्नो धारणा राख्नुभएको जानकारी दिनुभयो । उहाँले पार्टी र सरकारका विषयमा उठेका विविधि प्रश्नमा आफूहरुले नेतृत्वको ध्यानाकर्षण गराएको बताउनुभयो ।

सांसदहरुले उठाउनुभएका प्रश्नमा प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष दाहालले जनताको अपेक्षाअनुसार नै सरकार अगाडि बढेको, पार्टी एकताको कामलाई छिट्टै पूर्णता दिने विश्वास दिलाउनु भएको नेता पौडेलले बताउनुभयो । त्यस्तै बैठकमा सहभागी अर्का सांसद रामकुमारी झाँक्रीले नियमति रुपमा पार्टी नेतृत्व र सांसदबीचको अन्तरक्रियामा आफूले जोड दिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री देश र जनताका लागि दैनिक १८ घण्टा खटेजस्तै तमाम पार्टी कार्यकर्तालाई समेत खटाउने गरी जिम्मेवारी दिनुपर्नेमा जोड दिएको सांसद झाँक्रीले बताउनुभयो । बैठकमा नेकपाका नेताहरु भीमबहादुर रावल, जनार्दन शर्मा, धर्मशिला चापागाईं, घनश्याम भुसाल, पदम गिरी, झपट रावल, निरु पाल, लालबहादुर थापा, गणेश पहाडीलगायत २९ जनाले बोल्नुभएको थियो । संसदीय दलको अर्को बैठक यही असार २१ गते पुनः बस्ने प्रमुख सचेतक गुरुङले जानकारी दिनुभयो ।