नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड छलफलमा

maitrinews

 

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद कचल्टिएपछि समाधानका लागि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् । तर, दुई अध्यक्षको छलफलले कुनै निष्कर्ष भने दिन सकेको छैन । बुधबार पनि दुई अध्यक्षबीच बालुवाटारमा छलफल भयो । दुई अध्यक्षबीच राजनीतिक प्रतिवेदन छाप्ने र एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनेबारे नै छलफल भइरहेको प्रचण्ड निकट स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार कार्यदिशाबारे दुई अध्यक्ष एकमतजस्तो देखिए पनि विवाद अझै पर्गेल्न सकेका छैनन् । पछिल्लो समय ओली राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद राख्नुपर्ने बताउँदै आएका छन् । प्रचण्ड पार्टी एकताका बेला अघि सारिएको राजनीतिक विचार ‘जनताको जनवाद’ नै राखेर तत्काल प्रतिवेदन छाप्नुपर्ने अडानमा छन् ।

गत शनिबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पार्टीको राजनीतिक कार्यदिशा ‘जनताको जनवाद’ नै हुने बताएका थिए । जनताको जनवाद पनि जनताको बहुदलीय जनवादकै विशेषतायुक्त रहेको उनको तर्क थियो । तर, आइतबार दुई अध्यक्षको भेटमा ओलीले तत्काल राजनीतिक प्रतिवेदन छाप्ने मनशायमा नदेखिएको स्रोत बताउँछ ।

कार्यदिशाको गाँठो फुकाउन नसकेपछि एकताको बाँकी काम पनि अघि बढ्न सकेको छैन । दुवै अध्यक्षले असार मसान्तभित्र पार्टी एकताको काम टुंग्याइसक्ने सामुहिक उद्घोष गरेका छन् । नेकपामा केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पोलिट्व्युरो गठन, प्रवास कमिटीको एकता र निकायहरूले पूर्णता पाउन बाँकी छ ।