बीमाको २५ लाख लोभमा रौतहटमा बाबुले गरे चार वर्षीया छोरीको हत्या

maitrinews

रौतहट  ।        रौतहटमा पैसाको लोभमा बाबुले आफ्नै नाबालिका छोरीको हत्या गरेका छन्। जीवन बीमा गरेबापतको २५ लाख रुपैयाँ पाइने लोभमा रौतहट मौलापुर नगरपालिका-६ पथरा बुधरामका रामकिशोर यादवले चार वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेका हुन्।

रौतहट प्रहरीका अनुसार रामकिशोरले असार १७ गते राति घरमा सुतिरहेकी छोरीको हत्या गरी शव पोखरीमा फालेका थिए। बालिका हराएपछि खोजी गर्दा नजिकैको पोखरीमा शव भेटिएको थियो।

रामकिशोरले बालिकालाई आमासँगै सुतिरहेको बेला उठाएर लगी पोखरीको छेउमा लगेर नाकमुख थुनी हत्या गरेको प्रहरीलाई बताएका छन्। हत्या अनुसन्धानमा जुटेको प्रहरीले पक्राउ गरी शुक्रबार यादवलाई सार्वजनिक गरेको छ।