विषादी मापन नेपालमा स्थगित, भारतमा यथावत

maitrinews

 

काठमाडौँ । भारतबाट नेपाल आयात हुने कृषिजन्य बस्तुमा विषादी मापनको व्यवस्था सरकारले हटाए पनि नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुमा भारतले विषादी मापनको व्यवस्थालाई कायम राखेको व्यवसायीहरूले बताएका छन्।

भारतले कृषिजन्य बस्तुको परीक्षण गर्न थालेको करिब ६ वर्ष भइसकेको बताइन्छ।

नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुहरूमा तयारी चिया, ठूलो अलैंची, कुचो, हिमाली जडीबुटी, अदुवालगायत छन्।
चिया उद्योगी तथा व्यवसायीहरूका अनुसार नेपालमा उत्पादित तयारी चिया भारत निकासी गर्दा कोलकाताको प्रयोगशालामा नमुना लगेर परीक्षण नगरी भारत निकासी गर्न पाइँदैन।

तर भारतीय उत्पादन नेपाल आयात गर्दा नेपाल सरकारले गर्न खोजेको विषादी मापनको व्यवस्था सरकारले नै हटाएकोमा नेपाली व्यवसायीहरुले आक्रोस पोखेका छन्।

सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीवार बोल्दै दुवै देशले एक अर्काको नागरिकको स्वास्थ्य खेलबाड हुने गरि काम गर्न नहुने बताएका थिए। उनले चेकजाँचको व्यवस्था राम्रो भएको र त्यसका लागि बरू प्राविधिक केही जटिलता भए मिलाउनु पर्ने बताएका थिए।

ून हाम्रो उत्पादनको कारण भारतीय जनताको स्वास्थ्यमा खेलबाड गर्न मिल्छ, न भारतीय उत्पादनको कारण हाम्रो नागरिकको स्वास्थ्यमा खेलबाड गर्न मिल्छ। त्यसप्रति दुवै सरकारहरू संवेदनशील हुनुपर्छ। उत्पादक तथा व्यापारीहरू पनि संवेदनशील हुनुपर्छ। यसलाई अन्य विषयसँग जोड्नु हुँदैन,ू उनले भने।

नेपालका कृषिजन्य उत्पादन भारतमा निर्यात गर्न सहज नभएको नेपाली व्यवसायीहरु बताउँछन्।

कहिले चिया त कहिले अदुवा अनि कहिले अलैंचीको निर्यातमा भारततर्फबाट अवरोध हुँदै आएको किसान तथा व्यवसायीहरू बताउँछन्।

इलामको गोर्खा टि इन्डस्ट्रिजका प्रोपाइटर उदय चापागाईंका अनुसार कोलकाताको प्रयोगशालामा लगेर नमुना परीक्षण नगरी नेपालको चियाको भारत जान पाउँदैन।