इरानद्वारा परमाणु सम्झौताको प्रावधान उल्लंघनको घोषणा

maitrinews

 

तेहरान । इरानले आफ्नो एउटा पछिल्लो घोषणामा सन् २०१५ मा गरिएको परमाणु सम्झौताको अर्को एउटा प्रावधान तोडेको बताएको छ।

तेहरानमा आयोजित एउटा पत्रकार सम्मेलनमा सहायक विदेशमन्त्री अब्बास अराक्चीले आफ्नो देशले सम्झौताले व्यवस्था गरेको युरेनियमको थप प्रशोधन वा इनरिचमेन्टको सीमास्तर तोडेको बताएका हुन्।

इरानले सम्झौताले आफूसँग राख्न अनुमति दिएभन्दा बढी ९लो इनरिच्ड० युरेनियमको भण्डारण बढाएको बताएको एक साताभन्दा कम समयमा यस्तो नयाँ घोषणा आएको हो।

त्यस्तो इनरिच्ड युरेनियम आणविक भट्टीमा इन्धनको रूपमा र पारमाणविक अस्त्रमा पनि प्रयोग हुनसक्ने बताइन्छ।
इरानले आणविक हतियार निर्माण गर्ने आफ्नो कुनै मनसाय नरहेको बताउँदै आएको छ।

अराक्चीले भनेका छन्( इरान न त अन्तर्राष्ट्रिय सम्झौताबाट पछि हट्नेछ न त त्यसलाई रद्द गर्नेछ।

तर उनले युरोपेली संघ ९इयु०का विदेशनीति प्रमुखलाई पठाएको पत्रमा इरान अब उक्त सम्झौतामा तोकिएका विभिन्न सीमाहरूमा अडिग नरहने स्पष्ट पारेका थिए।

सहायक विदेशमन्त्री अराक्चीले इरानले अझै उक्त सम्झौता बचाउन चाहेको तर युरोपेली देशहरूले आफूहरूले गरेको प्रतिबद्धतामा कायम रहन नसकेको आरोप लगाए।