काँग्रेस सभापति देउवाको कार्यकाल एक वर्ष लम्बिने

 

काठमाडौँ । कांग्रेस नेताहरूले संशोधित विधानअनुसारका पार्टी संरचना भदौ तेस्रो सातासम्म गठन गरेर १४औँ महाधिवेशनमा होमिने सहमति गरेका छन् । आइतबार दिउँसो शीर्ष नेता तहमा भएको सहमतिलाई साँझ बसेको केन्द्रीय समिति बैठकमा पेस गरिएको छ । निर्वाचनबाटै बुथदेखि प्रदेश समिति गठन गर्ने सहमति पनि शीर्ष तहमा भएको छ । यसअघि पार्टी संरचना गठन गर्न तदर्थ समिति बनाउने विषय उठेको थियो । आगामी २४ भदौबाट सुरु हुने दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअघि कम्तीमा पनि बुथ तहदेखि ६ हजार सात सय ४३ वडा, सात सय ५३ पालिका समिति र तीन सय ३० प्रदेश समितिसम्म गठन हुन सक्ने महामन्त्री पूर्णबहादुर खड्काले बताए ।

‘संशोधित विधानअनुसार निर्वाचनमार्फत अन्तरिम संरचना गठन हुन्छ । निर्वाचन समितिसँगको छलफलपछि हामी २४ भदौको जागरण अभियानअघि बुथ, वडा र प्रदेश समितिसम्म गठन गर्ने गरी अघि बढ्छौँ,’ खड्काले भने, ‘त्यसपछि क्रियाशील सदस्यता वितरण गरेर १४औँ महाधिवेशनको कार्यतालिका बनाउँछौँ ।’
नेता रामचन्द्र पौडेलले पनि दोस्रो चरणको अभियानअघि नै कम्तीमा एक सय ६५ प्रतिनिधिसभा क्षेत्रीय समितिसम्म संरचना गठन गरेर जानुपर्ने बताए । ‘१४औँ महाधिवेशन गर्ने विषयले मात्र प्रवेश पाएन, कार्यतालिका बनाएर प्रक्रिया प्रारम्भ गर्ने सहमति भएको छ,’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘अब निर्वाचनबाट वडादेखि क्षेत्रीय समितिसम्म बन्नुपर्छ । त्यसपछि तत्काल कार्यतालिका बनाएर १४औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशन प्रारम्भ गर्नुपर्छ ।’

नेताहरूबीच भएको सहमतिअनुसार महाधिवेशनको कार्यतालिका बनाउँदा सभापति शेरबहादुर देउवाको कार्यकाल स्वतः एक वर्ष थपिएर पाँच वर्ष पुग्नेछ । भदौसम्म पार्टी संरचना बनाएर सदस्यता वितरण गरी अधिवेशन गर्न कम्तीमा डेढ वर्ष लाग्ने भएकाले देउवाको कार्यकाल पाँच वर्ष पु¥याउन सबै पक्ष अनौपचारिक रूपमा सहमत भएका हुन् । विशेष अवस्थामा सभापतिको कार्यकाल एक वर्ष थप गर्न पाउने व्यवस्था विधानले नै गरेको छ । देउवाको नियमित कार्यकाल भने आगामी फागुन मसान्तमा सकिँदै छ ।