न्युयोर्कमा पूर्वराजा ज्ञानेन्द्र शाहको ७३औँ जन्मोत्सव

maitrinews

 

न्युयोर्क । अमेरिकामा रहेका राष्ट्रवादी नेपालीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको ७३ औँ जन्मोत्सव भव्यरुपले मनाएका छन् ।
ज्याक्सन हाइटस्थित बाम्बो रेस्टुरेन्टमा आयोजित समारोहमा डा. कमल पाण्डेले पूर्वराजाको जन्मोत्सव मनाउन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले नेपाल अभिभावकविहीन अवस्थामा रहेकाले राजाको आवश्यकता परेको बताउँदै पूर्वराजा ज्ञानेन्द्र शाहको सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभयो ।
वरिष्ठ राजनीतिज्ञ रत्न लामाले पूर्वराजा ज्ञानेन्द्रको सुस्वास्थ्यको कामना गर्दै मुलुक टुक्रिने अवस्थामा पुगेको छ, अब देश बचाउन, देशमा शान्ति सुशासनका लागि राजाको आवश्यकता रहेको छ भन्दै राजा आउ देश बचाउ भन्नुभयो ।
अमेरिका नेपाल कलाकार संघका महासचिव तथा बरिष्ठ लोकदोहोरी गायक विमल डाँगीले पूर्वराजा ज्ञानेन्द्र शाह कवि तथा गीतकार पनि भएको र उहाँको शासनकालमा कलाकारहरुको इज्जत र प्रतिष्ठा थियो भन्नुभयो । उहाँले नेपालका लागि राजा आवश्यक रहेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहको सुस्वास्थ्यकको कामना गर्नुभयो ।
कार्यक्रमका सभापति कवियत्री कमला प्रसाईंले नेपाललाई तहसनहस अवस्थामा पुर्याएकोमा गुनासो गर्दै अब राजा नल्याएसम्म नेपाल बचाउन नसकिने बताउनुभयो । उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहको दीर्घायु र सुस्वास्थ्यको कामना गर्नुभयो ।
कार्यक्रममा बरिष्ठ पत्रकार कृष्णराज पाण्डे, बरिष्ठ कलाकार न्हुच्छेनारायण डंगोल, सन्तलाल रिसाल, पुनम पाण्डे, योगेन्द्र अधिकारी, कृष्ण प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहको सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभएको थियो ।