नेपालमा जलवायु परिवर्तनको नकारात्मक असर

maitrinews

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जलवायु परिवर्तनको नकारात्मक असर परेको बताउनुभएको छ । ग्रीनहाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि नेपालले यसको असर खेपिरहनु परेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
वन तथा वातावरण मन्त्रालयको आयोजनामा राजधानीमा आयोजित जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।

“नेपालको भू बनावटका कारण संसारभरका मानिस रुचिपूर्वक प्राकृतिक सुन्दरताको अवलोकन गर्न मात्र होइन अनुसन्धान गर्न पनि यहाँ आउने गरेका छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले विश्वस्तरमा बढ्दो तापक्रम, ग्लेसियरको तह पातलो हुँदै गएको अवस्था र अस्वाभाविक वर्षाका कारण जनजीवनमा गम्भीर र नकारात्मक असर परिरहेको बताउनुभयो ।

“जलवायु परिवर्तनकै कारण वालीनाली प्रभावित भएका छन्, आवास तथा संरचनाको क्षति भइरहेको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “यी सबै कारणहरुले अर्थतन्त्रमा ठूलो घाटा भइरहेको छ ।”

“हाम्रा सामु जलवायु परिवर्तका असर र चुनौतिहरुको सामना गर्न जनतालाई बढी सशक्त बनाउने र त्यस्ता असरहरुलाई सम्बोधन गर्न तयार रहने बाहेका उपाय छैनन्” प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको आधारभूत अधिकारलाई सुनिश्चित गरेको छ । यो धाराको पूर्ण कार्यन्वयन गर्न सरकार प्रतिवद्ध छ ।”