चिनियाँ लगानीको सिमेन्ट उद्योगमा बाढी

maitrinews

 

काठमाडौं । १५ अर्ब रुपैयाँ लगानीमा निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग बाढीले क्षतिग्रस्त बनाएको छ । चिनियाँ कम्पनी ह्वासिन सेन्ट्रल एसिया इन्भेष्टमेन्ट ९हुवान० कम्पनी लिमिटेडको लगानीमा धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ मा निर्माणाधीन उद्योगमा बाढी पसेको हो ।

उद्योगमा कार्यरत ५ जना मजदुरसमेत बाढीमा फसेका थिए । यद्यपि, अहिले सबैको उद्दार भइसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए ।

उनका अनुसार आइतबारबाट उद्योग क्षेत्रमा बाढी पस्न शुरु गरेको थियो । साँझसम्म डुबान भएपछि नजिकैको प्रहरी टोलीले उद्धार गरेको उनले जानकारी दिए ।

उद्योगले गतवर्ष १५ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी गर्न लगानी बोर्डबाट स्वीकृति पाएको थियो । उद्योगमा चिनिया कम्पनी हुवानको ८५ प्रतिशत र सुरज वैद्यको वैद्य समूहको १५ प्रतिशत लगानीमा ह्वासिन सिमेन्ट नारायणी प्रालिको निर्माण शुरु गरिएको थियो ।

गत फागुनमा सभामुख कृष्णबहादुर महराले शिलान्यास गरेको यस उद्योग भौतिक संरचना निर्माण एक वर्षमा सक्ने लक्ष्य लिइएको थियो ।

होङ्सीपछि मुलुककै ठूलो उद्योगको रुपमा स्थापना गर्ने लक्ष्यका साथ यो उद्योगको निर्माण शुरु गरिएको कम्पनीका प्रतिनिधि डिल्ली अधिकारी बताउँछन् ।

सिमेन्ट उद्योगले आफूलाई चाहिने कच्चा पदार्थ स्थानीय सामाग्रीको प्रयोग गरेर उत्पादन गर्ने गरी तयारी थालेको थियो । उद्योग निर्माणको काम एक वर्षमा सकिने र त्यसपछि दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य बताइएको थियो ।