छिन्चु–जाजरकोट सडकको विजोग

maitrinews

 

जाजरकोट । छिन्चु–जाजरकोट सडकको सुर्खेतको कालीखोलामा सोमवार नेपालगञ्ज जाने र आउने दुई दर्जन गाडी फसे। करिब तीन घण्टापछि स्थानीयको सहयोगमा यात्रु आफैंले सडकमा बालुवा र गिट्टी हाले। त्यति गर्दा पनि गाडी गुड्न नसकेपछि यात्रु आफैंले गाडीलाई धेकेलेर गुडाए। यो सडकमा यसरी नै दैनिकजसो गाडी गुडाउनु पर्ने बाध्यता छ।

वर्षातको समयमा यस सडकखण्डको विभिन्न ठाउँमा वर्षेनी यसरी नै गाडी फस्ने गर्दा यात्रुले सास्ती पाउने गरेका छन्। पाँच वर्ष अघि नै कालोपत्रे भएको यो सडकको सल्लीबजार–खलंगा सडक खण्ड अन्तर्गत दर्जन बढी खोलामा बन्नुपर्ने पुल समयमा नबन्दा यात्रुले दुःख पाउने गरेका हुन्।

कहिले खोला बढेर त कहिले निर्माणाधीन पुल आसपासमा फालिएको माटोमा गाडी फसेर समस्या हुने गरेको छ। कालीखोलामा बनिरहेको निर्माणाधीन मोटरेबल पक्की पुल बनाउने क्रममा फालिएको माटोमा पानी परेपछि बाटो चिप्लो भएर गाडी गुड्न समस्या भएको जाजरकोट भेरी नगरपालिका ४ का यात्रु रणबहादुर कार्कीले बताए।

धेरैजसो पुलको ढलानको काम सकिए पनि पुल आसपासका सडकको काम नसक्दा चिप्लो बाटोमा गाडी गुड्न समस्या भएको उनको भनाई छ। ‘गन्तब्यमा पुग्न पनि गाडी धकेल्नुको विकल्प छैन। बिच बाटोमा गाडी फसेपछि यात्रु आफैंले गाडी धकेल्दै यात्रा गर्ने गरेका छन्।’