आज आषाढ शुक्ल पूर्णिमा, गुरुपूर्णिमा मात्र नभई धर्मचक्र प्रवर्तन दिवस पनि

maitrinews

आज अषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्दा भाव प्रकटगरी मनाउने गरिन्छ । यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ । गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरुपूर्णिमा मनाउने गरिन्छ । सनातन धर्मावलम्बिहरुले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परीक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार ब्यक्त गर्ने विशेष दिनका रुपमा लिने गर्छन् । र बौद्धधर्मावलम्बिहरुका आजको दिन धर्मचक्र प्रवर्तन दिवस हो ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ उज्यालो भन्ने बुझिन्छ । अध्याँरोबाट उज्यालोतर्फ लग्ने पात्रलाई नै सम्मानपूर्वक गुरु भनिएको सनातन धर्मको मान्यता छ । मनुस्मृतिमा जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ भनिएको छ । आफू आचरणमा बसेर अरुलाई आचरणमा राख्न सक्नेलाई स्मृतिमा गुरु भनिएको छ । मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई भनिएको छ । व्रतबन्ध संस्कारका बेला गायत्री मन्त्र दिने र वेदादि शास्त्र पढाउनेलाई गुरु भनिन्छ ।

सनातन मान्यताअनुसार आमाबुबा र गुरुलाई देवता मानिएको छ । गुरुलाई माता र पितापछिको स्थान दिइएको छ । ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन धर्मको मान्यता छ । गुरु एकदिनमात्र नभई अहिले प्रचलनमा रहेको गुरुपूजा बर्खाका समयमा एक ठाउँमा बस्ने अर्वाचीन वैष्णव, शैव सन्यासीहरूको परम्पराबाट आएको हो । मंगलबार नै पौराणिक ग्रन्थ रचनाकार महर्षि व्यासको जन्मजयन्ती पर्छ ।

साथै बौद्धधर्मावलम्बिहरुले आजको दिनलाई धर्मचक्र प्रवतन दिवसको रुपमा मनाउने गरिन्छ । सिद्धार्थले ६ वर्षसम्म दुष्कर चर्या पश्चात बुद्धत्व लाभ गर्नुभईसकेपछि आजकै दिन अर्थात् आषाढ पुर्णिमाकै दिन वारणसीबाट पाँच जना आफ्ना शिक्ष्यलाई उपदेश दिनुभई धर्मचक्र प्रवर्तन सुरु गर्नु भएको थियो । जसलाई ४५ वर्षसम्म निरन्तर रुपमा उहाँले गाउँ गाउँ, नगर नगर परिक्रमा गर्नुभई बहुजन हित र बहुजन सुखका लागि समर्पित हुनुभई धेरै भन्दा धेरैलाई ज्ञानमार्गमा प्रतिष्ठित हुन पथ पर्दशन गर्नु भएको थियो । त्यसैले आजको दिन बौद्धधर्मावलम्बिहरुका लागि विशेष महत्व राख्छ ।