आउन लाग्यो पाइपलाइनबाट तेल

maitrinews

 

काठमाडौँ । पाइपलाइनबाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउन सुरु भएको छ । नेपाल–भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइन तयार भएपछि डिलेज ल्याउन थालिएको हो । बुधबार दिउँसो २ बजे भारतीय आयल कर्पोरेसन ९आइओसी० को मोतिहारी डिपोबाट छाडिएको डिजेल १८ घन्टापछि बिहीबार साँझ ६ बजे नेपाल आयल निगमको बारास्थित अमलेखगन्ज डिपोमा आइपुग्नेछ । आइओसीको अनुदान सहयोगमा निर्माण भएको पाइपलाइनको सबै परीक्षण सकिएपछि डिजेल पठाइएको निगमको अमलेखगन्जस्थित डिपो प्रमुख प्रदीप यादवले बताए । ‘अमलेखगन्जका लागि पाइपबाट डिजेल छाडिएको छ,’ उनले भने ।

पाइपलाइनबाट आउने डिजेल तत्काल अमलेखगन्ज डिपोमा भने खन्याइने छैन । ‘डिजेल पाइपमै राखिनेछ,’ यादवले भने, ‘उद्घाटनको दिन मात्र भल्ब खोलेर डिजेल पाइपबाट भण्डारणगृहमा पठाइनेछ ।’ पाइपको तेल भण्डारण गर्न अमलेगखन्जको डिपोमा चारवटा ट्यांकी तयार छन् । ती ट्यांकीसम्म तेल लैजान पाइप पनि फिटिङ भइसकेको छ ।

यादवका अनुसार पटनास्थित आइओसीको पटना रिफाइनरीबाट भने मंगलबार बिहान मोतिहारीका लागि डिजेल पठाइएको थियो । पटना–मोतिहारी १ सय ९९ किलोमिटर पाइप पानीले सफा गरेर डिजेल छाडिएको थियो । यस्तो अवस्थामा पाइपको तल्लो भागमा पानी रहने भएकाले डिजेलमा समेत मिसिएको हुन्छ । त्यसैले मोतिहारीमा रोकेर शुद्धीकरण गरेपछि मात्रै अमलेखगञ्ज पठाइएको यादवले बताए ।

‘पटनाबाट पानी मिसिएर आएको डिजेल मोतिहारीमा शुद्धीकरण गरियो,’ उनले भने, ‘त्यसपछि मोतिहारी–अमलेखगन्ज रुटको पाइपलाइनमा उक्त डिजेल छाडिएको हो ।’ यो रुटमा पनि पाइपलाइन सफा गर्दा तल्लो भागमा केही पानी जमेको छ । सुरुमा आउने करिब एक हजार लिटरमा डिजेल र पानी मिसिने आकलन गरिएको छ । त्यसैले सुरुको करिब एक हजार लिटरलाई अमलेखगन्ज डिपोमा रहेको ८ नम्बर ट्यांकीमा पठाइने यादवले बताए । ‘त्यहाँ पठाएको डिजेललाई पानीसँग अलग गर्ने प्रविधि छ,’ उनले भने, ‘डिजेललाई ११ नम्बर ट्यांकीमा पठाउँछौँ, त्यहाँबाट ट्यांकरमा लोड गरेर बजार पठाउने हो । पानीलाई पनि बाहिर निकास दिइन्छ ।’

पानी मिसिएको डिजेल सकिएको जानकारी कम्प्युटरमै जानकारी हुने यादवले बताए । ‘पूरै पाइपलाइनलाई अफिसमा रहेको कन्ट्रोल रुमबाट नियमन गरिन्छ, यसका लागि पाइपसँगै इन्टरनेटको तार टाँगिएको छ,’ यादवले भने, ‘सो तारका माध्यमबाट पाइपमा कति डिजेल आइरहेको छ, मिसावटको स्थिति के छ, कति प्रेसरमा आएको छ भन्ने सबै जानकारी हुन्छ ।’

कन्ट्रोल रुमको कम्प्युटरमा पानी मिसिएको डिजेल सकिएको जानकारी आएपछि अमलेखगन्जको भल्ब बन्द गरिने उनले बताए । ‘त्यसपछि यो भल्ब त्यतिवेला मात्र खुल्छ, जुन वेला उद्घाटन हुन्छ,’ उनले भने पटना रिफाइनरीबाट एक वर्षसम्म अमलेखगन्जका लागि तेल पठाइन्छ । यो अवधिसम्म प्रतिघन्टा २ लाख लिटर डिजेल आयात हुनेछ । एक वर्षपछि आइओसीले मोतिहारी डिपो सुदृढ गरी तयार गर्नेछ । त्यसपछि मोतिहारीबाटै अमलेखगन्जका लागि तेल पठाउँदा प्रतिघन्टा करिब ४ लाख लिटरसम्म आयात हुनेछ ।