डोल्पामा गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

डोल्पा । हिमाली जिल्ला डोल्पामा सुत्केरी बेथाले थलिएकी एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका(९ चुँ गाउँ बस्ने २४ वर्षीया जय कुमारी बोहोराको बिहीवार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
बोहोराको पेटमा रहेका दुइवटा बच्चा तेर्सो भएर आमा बच्चाको स्वास्थ्य जोखिममा परेकाले सुरक्षित प्रसुतिकोलागि हेलिकोप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत लगिएको लिकु स्वास्थ चौकीका प्रमुख मेघराज बरालले जानकारी दिए ।
“सुत्केरी बेथाले च्यापेपछि बोहोरालाई बुधबार साँझ लिकु स्वास्थ चौकी ल्याइएको थियो । स्वास्थ चौकीमा जाँचपछि दुइवटा बच्चा त्यसमा पनि तेर्सो भएका कारण प्रसुति गराउन नसकिने देखिएपछि उद्धारकोलागि पहल गरिएको हो” बरालले भने । उनलाई कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको पहलमा हेलिकोप्टरबाट उद्धार गरिएको हो ।