लाभकरमा ब्रोकरको फण्डाः लगानीकर्ताले बिल नदेखाए आधार मूल्यमा पूँजीगत लाभकर

maitrinews

 

काठमाडौं। पूँजीगत लाभकर गणना गर्न लगानीकर्ताले आफूले खरिद गरेको शेयरको मूल्यको प्रमाण पेश गर्नु पर्ने भएको छ। साउन १ गतेदेखि लागु भएको पूँजीगत लाभकर गणना विधिका लागि लगानीकर्ता आफैले खरिद मूल्य उपलब्ध गराउनु पर्ने छ।
यदि प्रमाण उपलब्ध नगराए आधार मूल्यकै आधारमा पूँजीगत लाभकर गणना हुने ब्रोकर एशोसिएसनले जनाएको छ।

पूँजीगत लाभकर गणनाको पछिल्लो निर्देशन अनुसार राफसाफ सदस्यहरुले लगानीकर्ताहरुबाट आफ्नो लगानीको भारित औषत लागत गणना गरी फारम भराइ लिनु पर्ने र त्यस अनुसारको लागत सिडिएससीको राफसाफ प्रणालीमा प्रविस्टि गरिनु पर्ने एशोसिएसनले जनाएको छ।
लगानीकर्ताले राफसाफ सदस्यबाट भारित ‍औषत लागतको गणना गरी कारोबार भएको अर्को कारोबार दिनभित्र बुझाउनु पर्ने छ। यदि लगानीकर्ताले भारित औषत लागत गणना नगरेमा ब्रोकरले आधार मूल्यमै शेयर खरिद गरेको मानी पूँजीगत लाभकर गणना गर्ने एशोसिएसनले जनाएको छ।

लगानीकर्ताले लाभकर छल्ने अवस्थालाई मध्यनजर गर्दै खरीद गरेको प्रमाणका रुपमा बिल पेस गर्नु पर्ने छ। कतिपय अवस्थामा लगानीकर्ताले बिल सुरक्षित राखेका हुँदैनन्। बिल सुरक्षित नभएको अवस्थामा लगानीकर्ताले नोक्शानमा पनि पूँजीगत लाभकर भुक्तानी गर्नु पर्ने अवस्था आउनेछ।

आन्तरिक राजस्व विभागले गत वर्ष आयकर ऐन २०५८ को दफा ९५ लाई टेकेर बोनस शेयर र हकप्रद शेयरको पूँजीगत लाभकर आधार मूल्यकै आधारमा गणना गर्न निर्देशन दिएको थियो। सरकारको निर्देशनसँगै लगानीकर्ताले चर्को आन्दोलन गरेपछि सरकारले विज्ञ समुह बनाएर अहिले जारी गरिएको नियम बनाएको हो। यस नियम अनुसार पूँजीगत लाभकर भुक्तानी गर्न थप कठिनाइ पर्ने देखिएको हो।

यस अगाडि ब्रोकरले खरिद मूल्यलाई आँफैले हरेर गणना गर्ने गरेका थिए। साथै प्रमाण नभेटिएका शेयरको हकमा लगानीकर्ता आँफैले भनेको आधारमा गणना गर्ने गरेका थिए। अब लगानीकर्ताले आफुले खरिद गरेको शेयर मूल्य सहित हकप्रद, बोनस शेयर सबैको जानकारी दिनु पर्ने छ।

लगानीकर्ताले भने यसलाई ब्रोकरले बजार प्रभावित गर्न ल्याएको फण्डाका रुपमा लिएका छन्। एक पुराना कारोबारीले आफ्नो थाप्लाको जिम्मेवारीबाट पन्छन ब्रोकरले फण्डा गरेको र लाभकर नीतिलाई प्रभावित पार्न खोजेको बताए।