पेट्रोलियम पाइप लाइनको अन्तिम परीक्षण

maitrinews

 

पर्सा । मोतीहारी–रक्सौल–अमलेखगन्ज पाइप लाइनको अन्तिम परीक्षणको काम सुरु भएको छ । नेपाल आयल निगमका अनुसार पटनाबाट पाइपलाइनमा पानी र डिजेल पठाइएको छ ।
‘पटनाबाट बिहान १० बजे पानी र डिजेल पम्पिङ गरिएको छ । उक्त डिजेल शुक्रबार राति अमलेखगन्ज आइपुग्छ,’ निगमका अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले भने, ‘उक्त डिजेल शुक्रबार बिहान परीक्षण गर्छौं ।’

यादवका अनुसार पटनाबाट पानी सँगसँगै डिजेल पठाइएको हो । साढे ६ सय किलोलिटर पानी र ३१ सय किलोलिटर डिजेल पठाइएको छ । ‘चुहावट परीक्षणका लागि पानी अगाडि पठाएका छौं । त्यसलगत्तै डिजेल पठाइएको छ,’ उनले भने, ‘यो परीक्षण हो । यसमा सफल भएपछि उद्घाटनका लागि तयार हुन्छौं ।’

निगमका अनुसार पटनाबाट बुधबार बेलुका ६ बजे नै पठाउने तयारी भएको थियो । तर, भन्सार प्रक्रिया मिलाउँदा ढिलाइ भएको निगमले जनाएको छ । भन्सार प्रक्रिया मिलेपछि बिहीबार १० बजे नै पठाइएको हो । यादवका अनुसार पटनाबाट अमलेखगन्जसम्म आइपुग्न १४ देखि १८ घण्टा लाग्छ । अमलेखगन्जमा राति पुगे पनि डिजेल परीक्षण भने बिहान ६ बजेदेखि हुने उनले बताए ।

पेट्रोलियम पाइपलाइन परियोजनाका इन्जिनियर शरदप्रसाद पौड्यालका अनुसार यसलाई ‘प्रि–टेस्ट’ भनिएको छ । ‘प्रि–टेस्टको क्रममा साताअघि पनि पाइप लाइनमा पानी छाडिएको थियो । अहिले पुनः पानी छाडिएको छ,’ उनले भने, ‘पटकपटकको परीक्षण सफल भएमा मात्रै पूर्ण रूपमा डिजेल आउने हो ।’ पानीपश्चात् पिग छाडिनेछ । यसमा तरलसँगै रबरका टुक्रा, इलेक्ट्रिक, म्याग्नेटिक, स्पन्ज आदिको मात्रासमेत हुनेछ । यी तत्त्वले पनि पाइपलाई भित्रैबाट सफा गर्ने काम गर्छन् । कन्ट्रोल हाउससँग पाइप लाइन कनेक्सन निर्माणको काम पनि भइरहेको छ ।

पानी र पिगबाट पाइपलाइन सफा गरिएपछि अन्तिममा डिजेल छोडिन्छ । डिजेल आउने भएपछि स्विच र भल्भहरू तयार पारेर राखिनेछ । यादवका अनुसार शुक्रबार अमलेखगन्ज पुगेपछि डिजेलमा मिसावट भएरनभएको परीक्षण गरिनेछ । सबै प्रक्रिया पूरा भएपछि उद्घाटनका लागि तयारी अवस्थामा राखिने यादवले बताए ।

निगका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पाइप लाइन तयारी अवस्थामा रहेको बताए । ‘हाम्रो तर्फबाट सबै प्रक्रिया पूरा भएको छ । परीक्षणस्वरूप बिहीबार डिजेल पनि पठाएका छौं,’ कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भने, ‘डिजेल परीक्षणपश्चात् पूर्ण रूपमा तयार हुन्छौं ।’ उनका अनुसार सम्भव भएसम्म पाइपलाइन उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबाट गराइनेछ । त्यसका लागि निगमले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको उनले बताए ।