दुख र दुख सम्बर्धन हुने कारण नै तृष्णा

हामी सवै दुखबाट मुक्त भई सुखपूर्वक जीवन यापन गर्न चाहन्छौं । संसारमा जन्मिएका फरक फरक प्रकृतिका प्राणीहरु सबै आ–आफ्नो कर्म अनुसार विभिन्न योनीमा जन्म लिएर बाँचिरहेका छन् । उनीहरुको आहार, बासस्थान, बानीव्यहोरा, रुप रंग, आकार प्रकार भिन्न छन् । तर जन्म, जरा, व्याधी , मरणलगायत दुखको पृष्ठभूमिमा हेर्दा ती सवै समान छन् । साना ठूला, दृष्य अदृष्य, स्थलचर, जलचर, नभचर जो सुकै हुन् । मानिस वा पशुपंक्षी सवै आ आफ्नो कर्म अनुसार संसारमा विचरण गरिरहेका छन् ।
दुखचक्रमा फसेर उनीहरु यसरी घुमीरहेका छन् की उनीहरुले त्यसको अन्त पत्ता लगाउन सकेका छैनन् । भनिन्छ, मानिस सर्वोश्रेष्ठ प्राणी हो । तर खान पिउन, पढ्न लेख्न र सुविधायुक्त जीवन बाँच्न जानेर मात्र मानिस सर्वोश्रेष्ठ प्राणी भएको भने होइन । शील सदाचारी जीवन बाँचेर , समाधिको अभ्यास गरेर साथै प्रज्ञाको विकास गरेर जन्म जन्मान्तरको संस्कारको गाँठो फुकाउने काम मानिसले मात्र गर्न सक्छ । तर अन्य प्राणीको लागि यो सम्भव छैन । यी कारणले गर्दा मानिसको जीवन उच्च भनिएको हो । शील, समाधि र प्रज्ञाले मात्रै मानिसलाई पशुत्वबाट माथि उठाँउन सक्छ ।
मानिसको जीवन विभिन्न शारिरीक र मानसिक दुखले पिरोलिरहन्छ । बुद्धले हाम्रा दुखहरु के के हुन् त भनी भन्नुभएको छ । जन्म हुनु दुख हो, बृद्ध हुनु दुख हो, रोगी हुनु दुख हो, मरण हुनु दुख हो, प्रियसँगको वियोग दुख हो भने अप्रियसँगको संयोग पनि दुख हो, इच्छा पूरा नहुनु दुख हो, संक्षिप्तमा भन्नुपर्दा पञ्चस्खण्डरुपी शरीर धारण गरिरहनु पर्ने बाध्यता पनि दुख नै हुन् ।
दुखलाई तीन प्रकारले व्याख्या गरिएका छन् । शरिरमा आउने विभिन्न खालका समस्याहरु जस्तै घाउँ खतिरा, शरिर मर्किने, दुख्ने, हातख्ट्टा भाचिँने, अंगभंग हुन्का साथै विभिन्न रोग व्याधिले आक्रान्त हुनु, यसलाई दुख–दुख भनिन्छ । यी विभिन्न प्रकारका दुखले सवैको पिछा गरिनैरहेको हुन्छ । त्यस्तै आफूलाई मनपर्ने व्यक्ति, वस्तु, परिस्थिति सधै समान रुपले सुखकारी हुँदैन । समयसँगै ती क्रमश परिवर्तन हुँदै जान्छ । वस्तु भए सुकेर, गलेर, रंग बदलेर, आकार घटबढ भएर, सौन्दर्य विलाएर, यसरी परिवर्तन हुँदा यसले हामीलाई दुख नै दिन्छ । मन पर्ने व्यक्तिको सन्दर्भमा पनि यही करा लागु हुन्छ । ती पनि सधै उस्तै भएर बस्दैन । आफू पनि सधै स्वस्थ र सुन्दर रहँदैन । हेर्दा हेर्दै उमेर ढल्केर जान्छ , शरीर सुकेर, गलेर, इन्द्रिय शिथिल भएर जान्छ, रुपरंग फेरिन्छ । यसैको कारणले पनि दुखको अनुभुति भईरहन्छ, जसलाई विपरिणाम दुख भनिन्छ ।
त्यस्तै भुतकालमा आफूले गरेका अकुशल कर्म वा बनाइएका संस्कारले प्रतिफल दिँदा अकस्मात सोच्दै नसोचेको अप्रिय घटनाहरु हुनपुग्छ । तिनले पनि दुख नै निम्त्याईरहेको हुन्छ । कहिले, कहाँ, कसरी भनेर सोध्न नपाउँदै तु्रुन्त प्रतिफल दिन्छ । यसलाई संस्कार दुख भनिएको छ । यी विभिन्न दुखका कारणहरुलाई बुभ्न नसक्दा हाम्रो दुख अझै बढ्दै गईरहेको हुन्छ ।
जव यी सम्पूर्ण दुखका कारणहरु पत्ता लगाउन सक्छौं, त्यतिबेला मात्र दुख निवारण गर्ने बाटोहरु तर्फ हामी अग्रसर हुन सक्छौं ।
हामीलाई आइपर्ने शारीरिक दुख, मानसिक दुख, अकस्मात आईपर्ने दुखहरु यी तीन किसिमले हामीले जीवनको पाइला पाइलामा दुख अनुभव गरिरहन्छौं । मानिस मात्र होइन जुनसुकै जीवलाई पनि जन्म, जरा, व्याधि र मरण दुखले छोड्दैन । त्यस्तै व्यक्तिगत, पारिपारिक, सामाजिक, व्यवसायिक जीवनमा आईपर्ने दुख, झमेला, चिन्ताहरु अनगिनती हुन्छन् । त्यस्तै प्राकृतिक प्रकोप, राजनैतिक घटनाक्रम, मानवीय प्रकृतिबाट आउने दुखहरु त छदैछन् ।
यी सवैखाले दुखका कारणहरु के के हुन् त ? बुद्धले तृष्णा नै सम्पूर्ण दुखको करण हो भन्नुभएको छ । तृण्णा भनेको मनपर्नेमा हुने आशक्ति र मन नपर्नेमा हुने घृणा हो । जुन तीन प्रकारका हुन्छन् ,काम तृष्णा, भव तृष्णा र विभव तृष्णा । धन सम्पति, पद प्रतिष्ठा, आफ्ना सन्तानको संग्रह गर्नु आदिमा आशक्त भई त्यसलाई पुनः पुन बृद्धि गर्दै लैजाने इच्छा आकांक्षालाई काम तृष्णा भनिन्छ । बारम्बार जन्म लिई अझ बढी सुख भोग गर्ने लालसा जगाउनु , म र मेरो भन्ने भावनालाई सधै जीवित राख्ने इच्छा बोकेर भव यात्रा चलाउने आशक्तिको नाम हो भव तृष्णा । त्यस्तै यही मानिसको जन्म एउटा मात्र हुन्छ ,यही प्रथम जन्म पनि हो र यही अन्तिम जन्म हो भनी जे गर्नु छ अहिले नै गर्नुपर्छ । त्यसैले यही जीवनमा सम्पूर्ण सुख भोग्नुपर्छ भनेर पाप पुण्यको ख्यालै नगरी जे पायो त्यही गरेर जीवन बिताउने तृष्णाको नाम हो, विभव तृष्णा । र यी तृष्णाको कारणले नै हामीले दुखको संद्धर्धन गरिरहेका हुन्छौं ।