गुल्मीको सत्यवतीमा पहिरोले ९ जनाको मृत्यु, ४ बेपत्ता (अपडेट)

maitrinews

गुल्मी  ।    अविरल वर्षाले गुल्मीको सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर बगाउँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन् । सत्यवती गाउँपालिका–३ को दाङसिंगाको कसिङथलामा आमा र छोराको मृत्यु भएको छ । सत्यवती–३ कै सिङदीमा २ जना बेपत्ता भएको स्थानीय मनबहादुर राहाडीले जानकारी दिए ।

ठूलोलुम्पेकको कसिङथलामा स्थानीय ३० वर्षीय तिलकुमारी तरामुको घर पहिरोमा पुरिएको छ। पहिरोले पुरेर तिलकुमारी र उनका १० वर्षीय छाेरा दर्शनको मृत्यु भएको हो। सोही घरबाट २ जनालाई सकुशल उद्दार गरिएको छ।

सिङदीमा पहिराेले घर पुरिँदा माया विक र उनका १७ वर्षीय बवी विक बेपत्ता छन्। पहिरोले गाउँमा २० घर बढी जोखिममा परेको वडा सदस्य अर्जुन तरामुले जानकारी दिए।

सत्यवती गाउँपालिका–४ लिम्घा भीरकुनामा अहिलेसम्म ५ जनाको मृत्यु भएको स्थानीय कृष्ण भण्डारीले जानकारी दिएका छन्। भिरकुनाका मनबहादुर विक, कालु विक, छलि विक र चन्द्रे विक लगायत दर्जन बढी घरमा पहिरोले क्षति पुगेको छ। ४ जना पहिरोमा बेपत्ता छन्। बेपत्ता भएकाको अहिलेसम्म केही जानकारी नआएको उनले बताए।
लिम्घाको भीरकुनाका ६ घरमा पूर्ण रुपमा क्षति पुगेको छ। तीन घरमा ९ जना बस्दै आएका थिए। लिम्घाको भीर कुनामा माथिल्लो भाग र पूर्वबाट पहिरो झर्दा १० घर बढीका बासिन्दालाई सुरक्षित स्थानमा लैजान स्थानीय उद्धारमा खटिएका छन्। यहाँ अझै पनि २० घर बढी जोखिममा रहको स्थानीय भरत शाहीले बताए। बिहान ३ बजेपछि यहाँ ठूलो पानी परेको थियो। अहिले पनि लेदो माटोसहित पहिरो खसेको उनले बताए।