काठमाडौ ।   नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलालको स्मरण गर्दा म उहाँलाई भेटेका र देखेका दुई घटना सम्झन्छु । उहाँलाई मैले एकपटक भेटेको र एकपटक मात्र देखेको छु ।

भारतको दरभंगामा मेरो उहाँसँग पहिलो भेट भएको थियो । मलाई पहिचानसहित भेट्न दिइएको थिएन । सम्पर्क व्यक्तिबाट मैले पहिलोपल्ट उहाँसँग भेट्न पाएको थिएँ । त्यो भेट पुष्पलालले मलाई चिन्नुभएकाले होइन, मैले पुष्पलाललाई चिनेकाले भएको हो । प्रजातान्त्रिक आन्दोलनमा उहाँको योगदानकै कारण मैले उहाँलाई देखभेट गर्ने अवसर पाएको हुँ । अर्कोपल्ट म पुष्पलाललाई भेट्न उहाँ बस्नुभएको ठाउँमा गएँ । त्यसबेला मैले उहाँलाई देख्ने मात्रै अवसर पाएँ । मैले आज पुष्पलाललाई सम्झिने आफूले देखभेट गरेका कारणले होइन । व्यक्तिलाई सम्झने अर्को पक्ष उसको काम र योगदान नै हो । आजको हाम्रो समाज र राजनीतिक वृत्तले पुष्पलाललाई सम्झनुपर्ने उहाँलाई देखेका र सँगै काम गरेका आधारमा होइन, उहाँका मूल्यवान योगदानका कारण हो ।

म पुष्पलालको मूल्यांकन आफूले भेटेको, देखेको हिसाबले गर्न चाहन्न । पुष्पलाललाई सम्झँदा कति देखियो, कति देखिएन, कति भेटियो, कति भेटिएन, कति सँगै बसियो, कति सँगै बसिएन भन्ने कुराको त्यत्रो अर्थ छैन ।

आज पुष्पलाललाई नदेख्ने मान्छेहरू नै धेरै छन् । धेरैले तस्बिर देखेका होलान् । तर पुष्पलालको नेतृत्वमा स्थापित कम्युनिस्ट आन्दोलन र उहाँको संस्थापकीय योगदानले हासिल भएको राजनीतिक परिवर्तन सबैले अनुभूत गरेका छन् । भोलिको पुस्ताले त पुष्पलाललाई देख्न पाउने कुरै भएन । उहाँको तस्बिरसम्म देख्लान् । त्योभन्दा महत्त्वको कुरा समाज र राजनीतिमा परिवर्तन देख्न र भोग्न पाउनेछन् । पुष्पलाललाई अब देख्ने र भेट्ने पनि त्यही हो, अनुहार आकृतिमा होइन । अबको पुस्ताले पुष्पलाललाई देख्ने भनेको सबभन्दा बढी विचारबाट हो, उहाँका कामबाट हो ।

पुष्पलालभन्दा अघि पनि कम्युनिस्ट आन्दोलनमा लागेका र कम्युनिस्ट भएका व्यक्तिहरू हुनुहुन्थ्यो । पुष्पलाल कांग्रेसका एउटा युवा कार्यकर्ताका रूपमा रहेका बेला र त्योभन्दा अघिदेखि कम्युनिस्ट भएर लागेकाहरू पनि हुनुहुन्थ्यो । मनमोहनअधिकारीले सन् १९४२ को भारतीय स्वाधीनता संग्राममा सरिक भएर भारतीय कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको थियो । तर उहाँले नेपालमा कम्युनिस्ट आन्दोलनलाई संगठित गर्न सक्नुभएको थिएन ।

विचारको हिसाबले नेपाल कुन अवस्थामा छ, नेपालमा गर्नुपर्ने के हो र कसरी अगाडि बढ्ने भन्ने कुरा व्यवस्थित रूपमा आएको थिएन । २००४ सालमा विराटनगरमा पहिलो मजदुर आन्दोनलको सुरुवातकर्ताको रूपमा उहाँले संगठन सुरु गर्नुभयो । त्यसमा गिरिजाप्रसाद कोइरालासम्मलाई पनि सामेल गर्नुभयो । तर पछि गिरिजाप्रसादको प्रभावले कांग्रेसतर्फ लाग्नुभयो ।

२००५ सालसम्म कांग्रेसको युवा कार्यकर्ताको रूपमा, युवा नेताको रूपमा क्रियाशील पुष्पलालले एउटा नयाँ विचार समाजमा दिनुभयो स् कांग्रेसको लोकतान्त्रिक मूल्य–मान्यता पूर्ण छैन । यो सामन्तवाद विरोधी छैन, राणा विरोधी मात्रै छ । यसको उद्देश्य सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापनासम्म छैन, जनताको सार्वभौम सत्तासम्म छैन । राणाको हातबाट सार्वभौम सत्ता राजाको हातमा हस्तान्तरण गर्न चाहन्छ ।

विगतमा राणाबाट दबाइएको राजतन्त्र चुपचाप संवैधानिक भएर बस्छ र बस्नुपर्छ भन्ने कांग्रेसको धारणा थियो । जस्तो राणा शासनमा छ, उस्तै–उस्तै गरेर राजा बस्नुपर्छ भन्ने कांग्रेसको धारणा थियो, तर गणतन्त्रवादी थिएन भन्ने पुष्पलालले ठम्याउनुभयो । जन्मसिद्ध श्रेष्ठताको निराधार सिद्धान्तकै पक्षमा कांग्रेस थियो ।

प्रतिस्पर्धाको राजनीति, प्रतिस्पर्धात्मक विचार, प्रतिस्पर्धाबाट श्रेष्ठता स्थापित गर्ने लोकतन्त्रको सामान्य वैचारिक तहसम्म पनि कांग्रेस थिएन । पुष्पलालले विचार, दर्शन र सामाजिक मूल्य–मान्यताको तहबाट एउटा नयाँ वास्तविक र सम्पूर्ण रूपमा क्रान्तिकारी, परिवर्तनकारी, वैज्ञानिक विचार प्रारम्भ गर्नुभयो । नेपालको राजनीतिमा पुष्पलालको पहिलो महत्त्व त्यो हो ।

उहाँले त्यसरी विचार अगाडि सार्दा सामाजिक न्याय र समानता सहितको समृद्धि हासिल गर्ने लोकतन्त्रको कुरा गर्नुभयो । उहाँको विचार एउटा परिपूर्ण लोकतन्त्रको अवधारणाका रूपमा आयो । अर्को कुरा, उहाँले विचारलाई विचारको रूपमा मात्रै होइन, व्यवहारमा प्रयोग गर्न संगठन चाहिन्छ भनेर संगठन निर्माण गर्नुभयो ।

समाजको तत्कालीन अवस्थाको विश्लेषण, समाज र राजनीतिलाई मार्गदर्शन गर्ने विचार, दर्शन र संस्थाको स्थापनामा पुष्पलालको नेतृत्वदायी भूमिका रह्यो ।

मार्क्सले लेख्नुभएको कम्युनिस्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरेर आफ्नो अभियानको दार्शनिक, सैद्धान्तिक आधार प्रस्तुत गर्नुभयो । नेपाली समाजमा परिवर्तन र रूपान्तरणको लागि पुष्पलालको योगदानसँग तुलना गर्न सकिने व्यक्तित्व छैन । पुष्पलालको योगदान नेपालको वामपन्थी आन्दोलनमा मात्रै होइन, लोकतान्त्रिक आन्दोलनमा पनि सर्वोच्च छ । वाम–लोकतान्त्रिक आन्दोलन र रूपान्तरणका व्यवस्थित विचारमा पुष्पलालसँग अरु कसैको तुलना हुन सक्दैन, चाहे ती जुनसुकै राजनीतिक धारका होउन् । नेपालको वाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको श्रेष्ठता यो हो ।

पुष्पलाललाई एक्ल्याउने, कमजोर पार्ने प्रयासबाट कम्युनिस्ट आन्दोलनको असफलता प्रारम्भ भयो । नेकपाको ०८ सालको पहिलो सम्मेलन होस् वा २००९ सालमा धनुषामा भएको विस्तारित बैठक होस् वा २०१० सालको पहिलो महाधिवेशन होस् । २०१४ सालको दोस्रो महाधिवेशन वा ०१९ सालको तेस्रो महाधिवेशन । सदैव पुष्पलाललाई एक्ल्याउने, अलग पार्ने, नेतृत्वमा आउन वा रहन नदिने प्रयासमै नेताहरूको ध्यान र शक्ति खर्च भयो ।

त्यस्तो संकीर्णताले आन्दोलन सफलताका साथ अगाडि जान सकेन । पुष्पलालका केही सांगठनिक कमी पनि हुँदा हुन् । तर विचारधारात्मक हिसाबले पुष्पलालसँग दाँजिने नेता कोही पनि देखिँंदैन । पुष्पलाललाई अकारण इर्ष्यावश धोका दिनुमै आफ्नो सफलता र जित देख्ने चिन्तन सदैवरह्यो । संकीर्णताले वैचारिक ध्येय छिन्नभिन्न भयो, गलत मान्छेको हातमा नेतृत्व गयो । ठिक मान्छेको हातमा नेतृत्व गयो भने आन्दोलन एकता र सफलतातर्फ जान्छ । बेठिकको हातमा नेतृत्व गयो भने गलत नीति, गलत व्यवहार, विभाजन र असफलता हात लाग्छ । त्यसयता छिन्नभिन्न भएको कम्युनिस्ट आन्दोलन पछिल्लो समयमा मदन भण्डारीले मार्क्सवादी दर्शन, लेलिनवादी सिद्धान्तमा आधारित पुष्पलालका सोचलाई सिर्जनात्मक ढंगले अगाडि बढाउनुभयो । जसले गर्दा नेपालको कम्युनिस्ट आन्दोलन पुनर्जागृत भयो ।

मलाई खुसी लाग्छ कि हामीले पुष्पलालको सपना साकार पार्ने बाटोमा महत्त्वपूर्ण काम गरेका छौं । विभाजित कम्युनिस्ट आन्दोलन एकताबद्ध, राष्ट्रब्यापी र मजबुत भएको छ । पार्टीले अत्यन्त सशक्त बहुमतसाथ प्रमुख स्थान हासिल गरेको छ । पुष्पलालको सांगठनिक र राजनीतिक चाहना आज हामीले पूरा गरेका छौं ।

देशमा कम्युनिस्ट पार्टीले समृद्धिको नेतृत्व गर्नुपर्छ भन्ने पुष्पलाल, मदन भण्डारीहरूको चाहना हो । त्यसलाई सफल पार्न हामी लागेका छौं । देशलाई समृद्ध बनाउने साधन पार्टी हो । पार्टीलाई बलियो किन बनाउनुपरेको हो भने देशलाई समृद्ध बनाउन, यस देशमा बस्ने हरेक नागरिकलाई सुखी बनाउन ।

त्यसैले हामीले अर्थतन्त्र आत्मनिर्भर बनाउनुपर्छ । त्यसका लागि हामीसँग दुइटा कुराको कमी छ, पुँजी र प्रविधि । हामीसँग दुइटा कुराको प्रचुरता छ । एउटा, हाम्रो प्रकृति अत्यन्त उर्वर र समृद्ध छ । दोस्रो, हामीसँग युवा र कार्यशील जनसंख्या छ । हाम्रो कमी पुँजी र प्रविधि हो । अब सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न पुँजी र प्रविधि बाहिरबाट पनि ल्याउनुपर्छ ।

पहिले–पहिले आकासे पानीको भरमा हामी खेती गर्थ्यौं होला । अहिले खोला थुनेर कुलो फर्काएर खेती गर्नुपर्छ । पहिले–पहिले कुलो थिएन भनेर अब कुलो नलगाउने काम गर्नु हुँदैन । ठिक ढंगले ठिक दिशामा जहिले पनि आन्दोलनलाई सफल बनाउन सिर्जनात्मक सोचसाथ बढ्नुपर्छ । मूलभूत मान्यतामा अडिग रहनुपर्छ । मान्यताको पिंजडा बनाएर त्यसभित्र बस्ने र कैदी हुने काम गर्नु हुँदैन ।

समयानुकूलका मान्यतामा अगाडि बढ्दा हामी परिवर्तन र उपलब्धिको बाटोमा जान सक्छौं । गौरवपूर्ण परम्परा भनेर हलो जोत्ने होइन, ट्याक्टर चलाउनुपर्छ । हामी अब यसअघि गर्न नसकेका र नगरिएका काम गर्दैछौं । हामी देश बदल्न आत्मविश्वाससाथ त्यही बाटो हिंँड्नुपर्छ । नयाँ बानी बसाल्दै जानुपर्छ । हामीसँग भएको प्राकृतिक स्रोत र जनसंख्यालाई पुँजी र प्रविधिसहित परिचालित गरेर उत्पादन बढाउनुपर्छ ।

बाह्य पुँजी आउँदा दलाल पुँजी आयो भन्दै वैचारिक शुद्धता र प्रवित्रताका कुरा आउँछन् । मूल कुरा पुँजीलाई कसरी प्रयोग गरिन्छ भन्ने हो । यहाँ हामीले पुँजी र प्रविधि भित्र्याएर उत्पादन गरेनौं भने बाहिरबाट आउने पुँजी दलाल नै हुन्छ । बाहिरको उत्पादन यहाँ ल्याएर बेचेपछि त्यो दलाल र नाफामुखी नै हुन्छ ।

हामीले यहाँ उत्पादन गरेर बाहिर पठाउने सोचेका हौं र सोही अनुसारको तयारी गरेका हौं । त्यसो गर्दा यहाँ रोजगारीको अवसर, उत्पादन वृद्धि हुन्छ, यहाँबाट निकासी हुन्छ । त्यसो गरेपछि वैदेशिक मुद्रा आउँछ । पुष्पलाल र मदन भण्डारीका नीतिहरू पनि आजका सन्दर्भमा यिनै हुन् । पुँजी र प्रविधिलाई हाम्रा प्रयासमा मिसाऔं, उत्पादन बढाऔं, निर्यात बढाऔं, आयात घटाऔं ।

पुँजीवादी र दलाल पुँजीका पक्षधरले कम्युनिस्टहरूमाथि एउटा आरोप लगाउँछन्– कम्युनिस्टहरूले भनेको समानता गरिबी वितरणको समानता हो । तर होइन, हामी समृद्धि हासिल गर्नेहरू हौं । जसले आजसम्म गरिबीमात्रै वितरण गरे उनीहरूकै कारण आज हामीले समृद्धिका लागि मिहेनत गर्नु परिरहेको छ । उनीहरूले हामीलाई यस हालतमा गरिबी वितरण गर्छन् भनिरहनु पनि एउटा दृष्टान्त हो– उनीहरूले गरिबी वितरण गरे, हामी समृद्धि स्थापित गर्दैछौं ।

सरकारले समानतालाई समृद्धिसँग जोडेको छ । समानता र समृद्धिलाई पृथक राखेर हेर्‍यो भने त्यो निरर्थक र नकारात्मक समानता हुन्छ । जुत्ता–चप्पल लाउन नपाएर खाली खुट्टा हिँंड्ने समानता होइन, सबैले जुत्ता लाउन सक्ने समानता चाहिएको छ । हामीले भन्ने गरेको समानताको साइनो समृद्धिसँग छ ।

आजको पिढी, जसले पुष्पलालको तस्बिरमात्रै देखेको छ वा त्यो पनि देखेको छैन, जसले पुष्पलालको नाममात्रै पढेको छ वा पढ्न बाँकी छ, यस पिढीले आफ्नो जीवनमा समृद्धि सहितको समानता हासिल गरी पुष्पलालका योगदानको स्मरण गर्नेछ ।