जन अपेक्षा अनुसार नै हामी अघि बढ्छौँ

Mohan Bastola

विशाल भट्टराई, सांसद एवं नेकपा इञ्चार्ज खोटाङ
७७ वटै जिल्लाको इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएसँगै पार्टी एकता प्रक्रियाले करीब –करीब पूर्णता पाएको छ । यो प्रक्रियासँगै आम कार्यकर्तामा पनि उत्साह छाएको छ । यी नै विषयसँग सम्वन्धित भएर नेकपाका केन्द्रीय सदस्य समेत रहेका खोटाङ जिल्ला इञ्चार्ज अर्थात सांसद विशाल भट्टराईसँग मोहन बास्तोलाले गरेको कुराकानीः

७७ वटै जिल्लाका इञ्चार्जको टुंगो लागेको छ । योसँगै पार्टी एकता प्रक्रियाले करीब पूर्णता पाएको छ । तपाईँले यो सन्दर्भलाई कसरी लिनुभएको छ ?

सबै भन्दा पहिलो कुरा त लामो समयदेखि छिन्नभिन्न अवस्थामा रहेको वामपन्थी आन्दोलनलाई यो एकता प्रक्रियाले एक ठाउँमा ल्याउने काम गरेको छ । यो सकारात्मक कुरा हो ।
जब २०७४ सालको संघ र प्रदेशको निर्वाचनको पूर्वसन्ध्यामा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एउटै झण्डा, एउटै चुनाव चिन्ह र एउटै चुनावी एजेण्डा लिएर जनताको घर–दैलोमा जाने सहमति भयो । त्यसले नै एक खालको सकारात्मक तरंङ पैदा गरेको थियो । त्यो जनताको पनि चाहना थियो ।

भनेपछि जनअपेक्षा अनुसार नै पार्टी अघि बढेको छ ?

हो, जनताले कम्युनिष्ट पार्टी एकताबद्ध होस भन्ने नै चाहेका थिए । जनताको भावना अनुसार नै हामीले संघ र प्रदेशको निर्वाचनको पूर्वसन्ध्यामा त्यो खालको निर्णय गरेर अघि बढेका थियौँ । न्यायप्रेमि जनताले पनि हाम्रो त्यो निर्णयलाई स्वीकार गर्नुभयो र हामीले दुबै निर्वाचनमा शानदारसँग विजयीप्राप्त गर्ने अवसर पायौँ । यो जनताको अपार स्नेहबाट प्राप्त भएको कुरा हो । २०७४ असोज १७ गते दुई पार्टी बीच एकता प्रक्रिया हुँदै गर्दा विभिन्न खालका दबाब पनि हामीलाई आएका थिए । ती सबैलाई चिर्दै एकताबद्ध हुने निर्णय हाम्रो नेतृत्वले गर्यो यो ठूलो उपलब्धी पनि थियो । त्यो निर्णयसँर्ग गठबन्धन बनाएर निर्वाचनमा जाँदा पनि विभिन्न खालका आशंकाहरु हामीमाथि गर्ने गरिएको थियो । ती सबै आशंकालाई फिका सावित गर्दै जनताले हामीलाई विजयी गराउनुभयो ।

निर्वाचनका बेला जनताले जुन विश्वास गरेका छन् त्यो विश्वासलाई पनि त तपाईँहरुले पूरा गर्नुपर्ने दायित्व होला नि ?

हो, निर्वाचन अघि मात्र होइन निर्वाचनपछि पनि यिनीहरुले गठनबन्धन निर्माण त गरे तर पार्टी एकता गर्न के सक्लान र भन्ने केहीको धारणा थियो । हामीले ती कुरालाई पनि फिका सावित गर्दै एकता प्रक्रियालाई टुंगोमा पुर्याएका छौँ । २०७५ सालको जेठ ३ गते पहिलो पटक एकता प्रक्रियाको सुरुवाती भयो । त्यसपछि नेकपाको केन्द्रीय कमिटी तयार भयो । त्यतिबेलै पनि नाम,झण्डा, निर्वाचन चिन्हलगायतका सन्दर्भमा फेरि समस्या हुने हो कि भन्ने थियो । त्यो पनि हामीले सहज ढंगले नै अन्त्य गर्यौँ । त्यसैबेला २ जना अध्यक्ष रहने र ४ सय ६१ सदस्यीय केन्द्रीय कमिटी रहने कुरालाई पनि निर्णय गर्ने काम भयो ।

एकता प्रक्रियापछि लामो समयसम्म जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रिया अघि नबढ्दा त एक खालको संशय त उत्पन्न भएकै थियो । अब संशय तोडियो होइन ?

हो, निश्चय पनि एकता प्रक्रियालाई निष्कर्षमा लैजाने सन्दर्भमा केही ढिला–सुस्ती भएको र आम कार्यकर्तामा केही निराशा पैदा भएको थियो । अहिले हामीले त्यो कुराको पनि अन्त्य गर्दै सबै तहको एकता प्रक्रियालाई टुंगो लगाएका छौँ । अब आम कार्यकर्तामा पनि निराशा होइन उत्साहका साथ काम गर्ने वातावरण निर्माण भएको छ । हामी आशावादी छौँ । अब सरकार र पार्टी दुबैमा गति बढ्ने छ । त्योसँगै जनताको अपेक्षा अनुरुपका काम अघि बढ्ने छन् ।
अहिले मुलुकमा दुई–तिहाई नजिकको कम्युनिष्ट नेतृत्वको सरकार छ । यो स्थायी सरकार पनि भएकाले जनताले स्वाभाविक रुपमा निकै आशा र अपेक्षा पनि गरेका छन् । त्यसकारण पनि वर्तमान सरकारले अझ बढी जिम्मेवार भएर जनताका हितमा काम गर्नुपर्ने दायित्व थपिएको छ ।

अहिलेको कार्यविभाजनप्रति पनि केही असन्तुष्टिका आवाजहरु पनि अलिअलि आएका छन् नि ?

कम्युनिष्ट पार्टी भनेको निकै ठूलो पार्टी हो । त्यसैले यो विशाल पार्टीमा केही गुनासा आउनुलाई अस्वाभाविक मान्न हुँदैन । हो, कतिपय सन्दर्भमा यसरी नै यो कार्यविभाजन गर्ने हो भने पहिला नै गरेको भए पनि त हुने थियो नि ? किन यति ढिला भन्ने प्रश्न पनि आएका छन् । अहिले जुन खालको विरोध विभिन्न शक्तिले हाम्रो पार्टीमाथि लगाउने गरेका छन् । यो एकता पहिला नै टुंगिएको भए संगठित रुपमा त्यस्ता विरोधको सामना गर्दै अघि बढ्न सकिन्थ्यो भन्ने पनि भनाई आएका छन् । अहिले हामीले नराम्रो काम गरेर होइन हामीले गरेका कामको संगठित प्रचार गर्न नसकेकाले पनि विरोध हुने गरेको छ । केही शक्ति त राम्रो काम गरे पनि विरोध नै गर्ने गरी लागेका छन् । उनीहरुको विरोधलाई प्रतिकार गर्ने सन्दर्भमा पनि पार्टी एकताले पूर्णत पाउन नसक्दा समस्या भयो कि भन्ने पनि छ । तर, अब ती सबै कुरा पार्टी एकताले पूर्णता प्राप्त गरेसँगै अन्त्य भएका छन् । हाम अझ जिम्मेवार भएर अघि बढ्नुको विकल्प छैन । सरकार पनि अझ गतिशील भएर अघि बढ्नेमा म पुनः भन्न चाहन्छु । हामी आशावादी छौँ ।

विरोधका आवाजलाई चाँहि के भन्नुहुन्छ ?

विरोध गर्नेहरुको काम नै विरोधमा व्यथित भएको हुन्छ । सरकारले जनताले सोचे अनुसारको गतिाम काम गर्न नसकेको होला तर नराम्रो पनि गरेको छ भन्ने मलाई लाग्दैन । त्यसैले विरोधका लागि विरोध मात्रै गर्नेहरुका लागि त हामीले भन्ने केही पनि छैन । केही कमजोरी भएका छन् भने हामीले पनि सच्चिएर जाने हो । तर, जेमा पनि विरोध मात्रै हुन्छ भने ती सबै कुरालाई सम्झेर दुखी हुन पनि जरुरी छैन ।

भनेपछि अझै लामो समय कम्युनिष्ट सरकार मुलुकमा रहिरहन्छ भन्नेमा ढुक्क हुनुहुन्छ ?

हामीले जन अपेक्षा अनुसार काम गर्न सकेनौँ भने अर्को पाँच वर्षपछि कमजोर हुन्छौँ भन्ने हेक्का राखेरै अघि बढेका छौँ । यो पहिलो वर्षलाई हामीले आधार वर्षका रुपमा लिएका छौँ । अबका बाँकी चार वर्षमा हामी जनताले अपेक्षा गरे अनुरुप नै काम गर्ने प्रयास गर्ने छौँ । पहिलो पटक त्यो पनि जनताले शक्तिशाली मतसहित हामीलाई विजयी बनाएका छन् । उनीहरुको आशा, अपेक्षा र भरोसालाई कमजोर हुन नदिने गरी हामी काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छु ।