अपर दोर्दीका चार मजदुरको शव भेटियो, सात बेपत्ता, १५ मजदुरको उद्धार

Mohan Bastola

लमजुङ । लमजुङको दोर्दी खोलामा आएको बाढीले चारजनाको मृत्यु भएको छ भने सातजना बेपत्ता छन् । बुधबार दिउँसो साढे २ बजे आएको बाढीले दोर्दी खोलामा निर्माणाधीन २५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत मजदुरलाई बगाएको थियो । शिरतिर थुनिएको खोला अचानक उर्लिएर आएपछि मजदुरको भागाभाग भएको थियो । सो खोलामा ५४ मेगावाटको सुपरदोर्दी र २५ मेगावाटको अपरदोर्दी जलविद्युत् परियोजना निर्माणाधीन छन् ।

सुपरदोर्दीका १५ मजदुरलाई बाढीले सुरुङमा हालेको थियो । उनीहरूको उद्धार भएको छ । तर, अपरदोर्दीका ११ मजदुरलाई बाढीले बगाएको थियो । बुधबार रातिसम्म चारजनाको शव भेटिएको छ । उनीहरूको सनाखत हुन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी डा। डिजन भट्टराईका अनुसार तीनजनाको शव नौथरसेरा र एकजनाको शव कीर्तिपुर बेँसीमा फेला परेको थियो । सातजना बेपत्तामध्ये साँझ १० बजेसम्म कोही पनि सम्पर्कमा नआएको उनले बताए । बाढीले बगाएर नौजना घाइते भएका छन् । घाइतेमध्ये ६ जना माथिल्लो दोर्दी ‘ए’ का कामदार हुन् । अन्य तीनजना निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाका कामदार हुन् । उनीहरूलाई उपचारका लागि बेँसीसहर ल्याइएको छ । बाढीले जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुर्‍याएको छ ।

उद्धारकार्यमा सुरक्षाकर्मीसँगै जनप्रतिनिधि र स्थानीय खटेको दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले जानकारी दिए । ‘दोर्दीखोलामा आएको बाढीले जलविद्युत् आयोजनाको निर्माणाधीन ड्याम क्षेत्रमा क्षति पुर्‍याएको छ । स्थानीय विस्थापित भएका छन्,’ उनले भने, ‘सुरक्षार्थ बसेको नेपाली सेनालाई पनि विस्थापित बनाएको छ ।’

डिएसपी रवीन्द्रमान गुरुङका अनुसार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले बेपत्ताको खोजी गरिरहेको छ । प्रजिअ भट्टराईसहित सुरक्षा निकायका प्रमुखहरू घटनास्थल पुगेका छन् । बाढीबाट भएको मानवीय र भौतिक क्षतिको यकिन विवरण आउन बाँकी नै रहेको डिएसपी गुरुङको भनाइ छ ।

२५ मेगावाटको माथिल्लो दोर्दी जलविद्युत् आयोजना र पिपुल्स हाइड्रोपावरमा समेत बाढीले क्षति पु¥याएको छ । ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ को प्रवर्द्धक पिपुल्स हाइड्रोपावरका कर्मचारीका अनुसार तीनजना कामदार घाइते भएका छन् । सो हाइड्रोपावरको सुरुङमा थुनिएका १७ जना कामदारको सकुशल उद्धार गरिएको छ । बाढीले आयोजनाको दुईवटा ट्र्याक्टर, एउटा मिक्स्चर र एउटा लोडर बगाएको छ । डाइभर्सन सुरुङलगायतका संरचनामा क्षति पुर्‍याएको आयोजनाले जनाएको छ नयाँपत्रिकाले लेखेको छ ।