गुठी विधेयकका नाममा राजनीति हावी

maitrinews

 

काठमाडौं । सरकारले ल्याएको गुठी विधेयक विरुद्धको आन्दोलन गुठीयार भन्दा पनि गुठीका नाममा राजनीति गर्ने शक्तिहरूको हातमा जान थालेपछि गुठी आन्दोलनका सच्चा अभियन्ताहरू नै अन्योलमा पर्न थालेका छन् । त्यति मात्र होइन, गुठीका नाममा राजनीति हावी हुन थालेपछि सञ्चा गुठी सञ्चालक समेत चिन्तित बन्न थालेका छन् ।

गुठी विधेयक विरुद्धको आन्दोलनमा अहिले उपत्यकाका सच्चा गुठी सञ्चालकहरू भन्दा पनि नेपाली कांग्रेस, संघीय समाजवादी पार्टी नेपाल र विवेकशील पार्टीका कार्यकर्ताहरू बढी हावी हुन थालेपछि समस्या देखिएको छ । त्यसैले आन्दोलन नै अब गुठी विधेयक भन्दा पनि सरकार विरोधी आन्दोलनका रूपमा अघि बढ्ने सम्भावना देखिएको गुठीयारहरू नै बताउन थालेका छन् ।

गुठी आन्दोलन आफ्नो मूल मर्मलाई छोडी सरकारविरोधी मोर्चाका रूपमा अघि बढ्न थालेकाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका स्थानीय जनप्रतिनिधिहरूले पनि यसलाई गम्भीर रूपमा लिएको बुझिएको छ । गुठी विधेयकमा रहेका बुँदाहरू संशोधन गर्न सम्बद्ध गुठीयारहरूलाई सुझाव माग्दा पनि अहिलेसम्म उपलब्ध नगराएको उनीहरूको आरोप छ । ‘गुठीयारहरू सरकारलाई आफ्ना सुझाव दिन चाहन्छन् तर आन्दोलनमा घुसेका त्यही राजनीतिक तत्वहरूले त्यसलाई रोकेको छ,’ काठमाडौंबाट निर्वाचित एक जनप्रतिनिधिले भने ।

सरकारलाई आफ्नो माग समेत पेश नगर्ने र जसरी भए पनि आन्दोलनलाई तन्काइ राख्ने नियतले थप समस्या हुने उहाँको गुनासो छ । गुठी आन्दोलनमा आफ्नो समेत सहभागिता जनाई सरकार समक्ष आन्दोलनकारीका कुरा पुर्याउन सहयोग गरिरहेका प्रतिनिधिसभाका नेकपा सांसदहरू कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, रामवीर मानन्धर, प्रदेशसभाका सांसदहरू डा। अजयक्रान्ति शाक्य, काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र निर्वाचित वडा अध्यक्षहरूलाई समेत पाखा लगाएर केही शक्ति गुठीका नाममा राजनीति गर्न थालेको बुझिएको छ । सरकारले ल्याउन लागेको गुठी विधेयकलाई उपत्यकाका गुठीहरू बचाउने पक्षमा परिमार्जन गर्न उनीहरू अहिले पनि प्रयत्नरत छन् । तर, केही व्यक्ति भने अहिले गुठी विधेयकलाई हतियार बनाएर जातीय भावनामा खेल्दै राजनीतिको खेल मैदानमा तल्लिन भएका छन् ।

‘सम्पदाका मुद्दालाई अघि सारेर राजनीति गर्ने यही समूहले गत साता काठमाडौंको टेकूस्थित पचली भैरवमा रहेको महेन्द्र सरस्वती सेवा आधारभूत स्कुलले बनाउन लागेको विद्यालय भवन नै तोडफोड गरिदिएपछि केही शक्ति गुठी आन्दोलनका नाममा अराजकता मच्याउने खेलमा लागेको थप पुष्टी भएको छ,’ एक जना जनप्रतिनिधिले भने, ‘सरकारी स्कूलमा सरकारकै लगानीले बनिरहेको भवन तोडफोड गर्नु त्यो भन्दा अराजकता के हुन्छ ।’ ती जनप्रतिनिधिले त्यसरी कानुन हातमा लिएर अराजकता मच्याउदैँ जाने हो भने गुठी आन्दोलन नै कमजोर बन्ने चिन्ता व्यक्त गरे । सरकारी सम्पत्तिमाथि विभिन्न बाहनामा आक्रमण गर्ने छुट कसैलाई नभएको उनको भनाई छ ।

अझ गज्जब त के छ भने स्कूलको भवनमा क्षति पुर्याउने कार्यमा नेपाली कांग्रेसका कार्यकर्ताहरू पंच महर्जन, विद्या श्रेष्ठ, शैलेश शाक्य, समाजवादी पार्टीका कार्यकर्ताहरू यादवलाल कायस्थ, श्यामकृष्ण प्रजापति, रश्मिला प्रजापति, शर्मिला सुवाल, भुषण बज्राचार्य, मोहन वैद्य समर्थित नेकपाका नमस्ते मानन्धरलगायत संलग्न रहेको बुझिएको छ । यो समूहले केही संख्याको एउटा मोबाइल टोली बनाइराखेको छ जो जहाँ पनि पुगेर प्रदर्शन र तोडफोडमा उत्रिहाल्ने गरेको पनि तथ्य फेला परेको छ ।

बज्राचार्य क्लवका नाममा पैसा उठाएर खाने व्यक्ति भएको समेत बुझिएको छ । उनीहरुलाई सम्पदा बचाउने भन्दा पनि गुठी आन्दोलनका नाममा केही कमाउ धन्दामा लागेको आरोप लाग्ने गरेको छ । महेन्द्र सरस्वती माविको भवन भत्काउन पुगेकी विद्या श्रेष्ठलगायतका समुहले वडा नम्बर १२ का वडाध्यक्षलाई ‘जुकीजुकी अर्थात ठोकठो’ भन्दै भीडलाई उत्तेजित बनाउने काम गरेको त्यहाँका प्रत्यक्षदर्शीले बताएका छन् । त्यसले पनि त्यो समूहको नियत के–हो भन्ने प्रष्ट हुन्छ ।

उपत्यकाका धेरैजसो सार्वजनिक विद्यालयहरूमा नक्सा बिना कै भवन निर्माण भएका हुन्छन् । अक्सर गरी त्यस्ता भवनहरू सार्वजनिक जग्गामै बनाइएका हुन्छन् । हाल महेन्द्र सरस्वती माविले भवन बनाएको ठाउँ पनि त्यस्तै सार्वजनिक जग्गा हो । स्कूल व्यवस्थापन समितिका अनुसार त्यहाँ स्कूलले भइरहेको पोखरी मासेर भवन बनाएको होइन । ४० वर्ष अघिसम्म पनि त्यहाँ कुनै पोखरी थिएन । कुनै बेला त्यहाँ स्कूलले टहरा बनाएर विद्यार्थीलाई पढाउने काम गर्दै आइरहेको थियो । त्यतिबेला कतैबाट विरोध आएको थिएन, अहिले भवन बनाउन लाग्दा मात्रै विरोध उठेको विद्यालयको दावी छ ।

यदि ४० वर्ष अघि नै सुकिसकेका पोखरीहरू जम्मै खोज्दै जाने हो भने काठमाडौंमा अहिले ठडिएका धेरै सरकारी तथा गैर सरकारी भवनहरू समेत भत्काउनुपर्ने अवस्था आउने कुरा विज्ञहरू बताउने गर्छन् । ‘कुनै बेला उपत्यका आफै एउटा ठूलो पोखरी थियो, अब यो पोखरी बचाउन के मात्रै भत्काउने ?’ श्रोतको प्रश्न छ ।