न्युयोर्कमा भानु जयन्ती

न्हुच्छेनारायण डंगोलबाट,
न्युयोर्क । आदिकवि भानुभक्त आचार्यको २०६ औँ जयन्ती न्युयोर्कको ज्याक्सन हाइटमा एक कार्यक्रम आयोजना गरी मनाइयो ।
जे.पी. कोइराला फाउन्डेसन अमेरिकाले आयोजना गरेको उक्त कार्यक्रममा न्युयोर्कमा रहेका राजनीतिक व्यक्ति,बुद्धिजीवी,पत्रकार,कलाकार, समाजसेवी, प्राध्यापक र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको मुख्य आकर्षण नेपालबाट अमेरिका भ्रमणमा रहेको हिप हप समूह र स्थानीय कलाकारको प्रस्तुति थियो । कलाकारहरुले नेपालको हिमाल,पहाड र तराईको नृत्य प्रस्तुत गरेका थिए । आआफ्नो भेषभूषामा प्रस्तुत गरिएको नृत्य निकै मन पराएर विदेशी पाहुनाले ताली बजाएर स्वागत गरेका थिए ।
नेपाल र अमेरिकाको राष्ट्रिय गान तथा शंख बजाई ओम् मन्त्रोचारण गरी सुरु गरिएको सो कार्यक्रममा बौद्ध गुरु तथा इसाई पादरीले विश्वशान्तिको कामना गरेका थिए ।
कार्यक्रममा फाउन्डेसनका अध्यक्ष सोमनाथ धिमिरेले स्वागत मन्तव्य दिनुभएको थियो भने कोषाध्यक्ष विन्दा राईले पाहुनाहरुलाई खादा आढाएर स्वागत गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति शोभाकर पराजुलीले डा. गोविन्द कोइराला, एभरेष्ट टाइम्स पत्रिकाका प्रधान सम्पादक आङ छिरिङ शेर्पा, तामाङ संस्था न्युयोर्कका गोमा गुरुङ योन्जनलाई सम्मान गर्नुका साथै कलाकारहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।