नेकपाका दुवै अध्यक्ष नियमित स्वास्थ्य जाँचका लागि विदेश जाँदै, पत्नी सीतालाई लिएर प्रचण्ड आज दुबई उड्ने

maitrinews

 

काठमाडौं । नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियमित स्वास्थय परिक्षणका लागि विदेश जानुहुने भएको छ । पत्नी सीता दाहाललाई लिएर अध्यक्ष दाहाल आज दुबई उड्ने कार्यक्रम तय भएको छ भने प्रधानमन्त्री केपीशर्मा ओलीको नियमित स्वास्थ्य परिक्षणका लागि १८ गतेबाट सिंगापुर जाने कार्यक्रम तय भएको छ ।

पार्टी सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीको सिंगापुर भ्रमणबारे जानकारी गराइएको थियो । सिंगापुरमा प्रधानमन्त्री ओलीले पुरानै अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको छ । कामको चापका कारण बिदेश जान नचाहनुभएका प्रधानमन्त्री ओलीलाई चिकित्सकले नियमित परीक्षणको समय टर्न लागेको भन्दै जोड गरेपछि जान तयार हुनुभएको हो ।

प्रधानमन्त्रीको स्वास्थ्यमा केही समस्या भएपछि गत शुक्रबार आर्मी अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री सिंगापुरमा एक साता रहने कार्यसूची रहेको छ ।

यस्तै, अर्का अध्यक्ष दाहाल पत्नी सीता दाहालको उपचारका लागि मंगलबार युएईको दुबई प्रस्थान गर्न लाग्नुभएको हो । दाहाल दम्पतीसँगै छोरी गंगा र नातिनी पनि जाँदै छन् ।

विभागीय प्रमुखको जिम्मेवारीका विषयमा छलफल गर्न सोमबार दिउँसो बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालको विदेश भ्रमणबारे जानकारी गराइएको थियो ।