निरन्तरको संसद अवरोधपछि सभामुखले मुख खोल्नुभयो, यस्तो आयो जवाफ

काठमाडौँ । सर्लाही घटनाको विषयलाई लिएर संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रतिनिधिसभाको बैठक निरन्तर अवरुद्ध गरेपछि सभामुखले पनि मुख खोल्नु भएको छ । बुधबारको बैठकमा सभामुख कृष्णबहादुर महराले बैठक शुरु गर्नासाथ दुवै दलका सांसदहरु उठेर विरोध जनाएपछि बैठक अबरुद्ध भएको थियो । सांसदहरुले विरोध गरिरहेकै बेला सभामुख महराले बैठकको कारवाही अघि बढाउन खोजेपछि दुवै दलका सांसदले वेल घेराउ गरेका थिए ।

बसेर संसद्को कारवाही अघि बढाउन सभामुख महराले पटकपटक अनुरोध गरे पनि विरोधसँगै नाराबाजी जारी रहेकाले बैठक स्थगित गर्नु परेको थियो । अर्को बैठक यही आज अपराह्न २ बजे बस्ने गरी स्थगन भयो । बैठक स्थगन भएपछि सिंहदरबारमै केही सञ्चारकर्मीसँग कुराकानी गर्दै सभामुख महराले विहीबारसम्म समस्याको समाधान खोज्ने गरी पहल अघि बढाएको बताउनुभयो ।उहाँले लाल आयोगको प्रतिवेदन छिटै सार्वजनिक हुने आफूले विश्वास लिएको पनि बताउनुभयो । एउटै पार्टीको सभामुख र उपसभामुख हुनुहुदैँन भन्ने विषय प्रतिपक्षले उठाएको सन्दर्भमा सभामुख महराले यस्तो प्रतिक्रिया दिनुभयो ।

त्यसैगरी सर्लाही घटनाको विषयलाई लिएर दोस्रो दिन संसद् अवरुद्ध भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद् खुलाउन सरकारले सक्दो प्रयास गरेको बताउनुभयो । अस्तिको अवरोधपछि आजसम्म तीन–चार पटक बैठक बसिसकेकोे उहाँले सञ्चारकर्मीको जिज्ञासामा जानकारी दिनुभयो । ‘यस सम्बन्धमा हिजो पनि सभामुखसँग मेरो कुराकानी भएको थियो, यी सबै कुरामा प्रधानमन्त्रीलाई पनि जानकारी छ तर यो विषय अझै टुङ्गिएको छैन, राज्य व्यवस्था समितिले ‘टेक अप’ गरेको विषयमा फेरि संसदीय छानबिन समिति गठन गर्नु उपयुक्त हुन्छ कि हुँदैन ?, प्रश्नहरु धेरै छन्’, नेता नेम्वाङले भन्नुभयो ।