प्रधानमन्त्री रोजगार कार्यक्रमले मुलुककै ध्यान आकर्षित गरेको छः श्रममन्त्री

Mohan Bastola

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली जनाताको आधारभुत जीवनलाई गुणस्तरीय र समुन्नत जीवनसँग जोड्नेगरी प्रधानमन्त्री रोजगार कार्यक्रम अघि बढेको बताउनुभएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री विष्टले काम र रोजगारीसँग युवाहरुलाई जोड्न सकेमात्र मुलुक समुन्नत हुने भएकाले श्रमसँग युवाहरुलाई जोड्ने र असहाय एवं पीडादायक जीवन बाँचिरहेका जनताहरुलाई सामाजिक न्याय प्रदान गर्ने प्रयत्नका रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रमले मुलुककै ध्यान आकर्षित गरेको बताउनुभयो । उहाँले कार्यक्रममा सम्वोधन गर्दै गरिबी र बेरोजगारीका कथा मात्रै सुनेर नपुग्ने भन्दै सरकारले जनताको समृद्धिको अभियान चलाउनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो–बेरोजगारीको कथाको ठाउँमा रोजगारीको अभियान चलाउनुपर्छ ।’ उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम त्यसैको एउटा अभियान भएको पनि प्रष्ट पार्नुभयो ।

मन्त्री विष्टले कामप्रति भावना जगाउने, कामलाई सम्मान गर्ने, काम नै जीवन हो भन्ने, काम नै भविश्य हो भन्ने भावना जगाउँदै निरासालाई आशा जगाउने अभियानका रुपमा समेत प्रधानमन्त्री रोजगार कार्यक्रम अघि बढेको बताउनुभयो ।

उहाँले सबै भन्दा चुनौतिपूर्ण विषय भनेको नै मानव शक्तिको व्यवस्थापन भएको भन्दै सरकारको ध्यान त्यसतर्फ केन्द्रित भएको उहाँको भनाई छ । त्यसैगरी मन्त्री विष्टले अहिलेसम्म प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ६ हजार आठ सय भन्दा बढी आयोजनाहरुमा १ लाख ७१ हजार बढीले छोटो समयका लागि भए पनि रोजगारी प्राप्त गरेको दाबी गर्नुभयो । उहाँले अभियान सञ्चालन गरेको एक वर्ष भित्रमै धेरै काम गर्न सफल भएको समेत दाबी गर्नुभयो । उहाँले एउटा ऐनको प्रक्रिया पूरा गर्न नै धेरै समय खर्च हुने परम्पराप्रति संकेत गर्दै छोटो समयमै धेरै काम गर्न सक्नु पनि उपलव्धि भएको बताउनुभयो । उहाँले काम गर्ने शिलशिलामा केही कमजोरी भए त्यसलाई आगामी दिनमा सुधार गरेर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

आगामी वर्ष वेरोजगारको सङ्ख्या कति छ भन्ने तथ्याङ्कसहित योजनाहरु अघि बढाउने अभियानमा सरकार लागि परेको पनि मन्त्री विष्टले जानकारी दिनुभयो । कम्तीमा पाँच लाखलाई रोजगारीको अवसर प्रदान गर्ने गरी सरकार लागेको पनि उहाँले स्पष्ट पार्नुभयो । नेपालमा यस अघि कहिल्यै पनि रोजगारीको अवसर सिर्जना गर्ने कुराले प्राथमिकता पाउन नसकेको भन्दै यो प्रयासलाई उहाँले कठिन र चुनौतिपूर्ण भन्नुभयो ।

उहाँले आम नेपालीमा निरासा फैलाउने काम गर्ने हो भने नेपालमा उत्पादन बृद्धि गर्न नसकिनेप्रति सचेत गराउँदै सञ्चारमाध्ययमलाई पनि सकारात्मक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । अहिले अनुकुल अवसर प्राप्त भएको भन्दै मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा मन्त्रालयका उपसचिव डा. लोकनाथ भुषालले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मुलुकका विभिन्न स्थानीय तहमा भईरहेका कामहरुको प्रस्तुतीकरण गर्नुभएको थियो ।