मंसिर १४ मा रिक्त रहेका ५० स्थानमा उपनिर्वाचन

काठमाडौँ । रिक्त रहेका ५० स्थानमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेपछि बसेको सर्वदलीय बैठकपछि १४ मंसिरमा उपनिर्वाचन गर्ने सिफारिस गरेको हो । सिफारिससँगै अब प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा विभिन्न कारणले रिक्त ५० स्थानमा उपनिर्वाचन हुने भएको हो । निर्वाचन कानुनमा स्थानीय तहको निर्वाचनको मिति सरकार र प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनको मिति निर्वाचन आयोगले सरकारसँगको परामर्शमा घोषणा गर्ने व्यवस्था छ । सर्वदलीय बैठकमा दलहरूले आगामी मंसिरसम्म तीनै तहको निर्वाचन एकै दिन गर्दा उपयुक्त हुने सुझाब आएकाले त्यसैअनुसार सिफारिस गरिएको प्रमुख आयुक्त थपलियाले बताए ।
हालसम्म एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेश सभा सदस्य, एक नगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४१ वडाध्यक्ष गरी ५० पद रिक्त छन् ।

प्रतिनिधिसभा सदस्यको एक, प्रदेश सभाका तीन, उपमहानगरपालिकाको मेयर एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र ४१ वडाध्यक्ष पद रिक्त छन् । आयोगका अनुसार निर्वाचन आयोगले ती ठाउँमा उपनिर्वाचनको तयारी गर्दै छ ।

कास्की क्षेत्र नं. २ मा प्रतिनिधिसभाको उपनिर्वाचन गर्नुपर्नेछ । त्यहाँबाट निर्वाचित नेकपाका सांसद तथा बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा १५ फागुनमा निधन भएको थियो ।

प्रदेश सभामा तीन सिट खाली छ । दाङ ३ (ख) बाट निर्वाचित उत्तरकुमार ओलीको कार दुर्घटनामा निधन भएपछि खाली भएको हो । भक्तपुर १ (ख) बाट निर्वाचित हरिशरण लामिछानेको उच्च रक्तचाप बढेपछि उपचारका क्रममा निधन भएको थियो । त्यस्तै, बाग्लुङ २ (ख) बाट गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीको जन्डिसका कारण निधन भएको थियो ।

सुनसरीको धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बाको निधन भएपछि उपनिर्वाचन हुनुपर्नेछ ।